भादगाउँ, २ पुस,, भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित ६८ वर्ष पुरानो जनज्योति पुस्तकालयको काँचुली फेरिएको छ । विगत लामो समय भक्तपुर दरबार क्षेत्रस्थित साँघुरा कोठामा सञ्चालन भइरहेको भक्तपुरको ऐतिहासिक पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको काँचुली फेरिएको हो ।
जनज्योति पुस्तकालयको स्थापना विसं २००७ मा भएको हो । तत्कालीन राजा त्रिभुवनले घट्खामा उद्घाटन गरी सञ्चालनमा आएको यो पुस्तकालय करीब पाँच दशकभन्दा बढी दरबार क्षेत्रस्थित नपा भवनमा सञ्चालन हुँदै आइरहेको थियो । नगरपालिकाले यसको व्यवस्थित सञ्चालनका लागि भनपा–२ नःपुखुस्थित नगरपालिकाको नयाँ भवनमा गत जेठमा स्थानान्तरण गरेसँगै यो पुस्तकालयको काँचुली फेरिएको हो ।
गत जेठ ७ गते नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनप्रतिनिधिले काम थालेको एक वर्ष पूरा भएका अवसरमा पुस्तकालय उद्घाटन गरी नयाँ भवनमा सञ्चालन गरेको हो ।
पुस्तकालयमा पाठकको मागबमोजिम किताब राख्ने ठाउँ र भौतिक पूर्वाधारको अभाव भएपछि गत जेठमा नयाँ भवनमा स्थानान्तरण गरेर थप व्यवस्थित गरी सञ्चालनमा ल्याएको पुस्तकालयका प्रमुख भूपाल मूलले भन्नुभयो । उहाँले पुस्तकालय सरेसँगै पाठकलाई पोखरीको मनोरम दृश्य, शान्त र फराकिलो कोठामा बसी पुस्तक र पत्रपत्रिका पढ्न एकदमै सजिलो भएको बताउनुभयो ।
“नःपुखुको मनोरम दृश्यसँगै आधुनिक तवरबाट आरामदायी, शान्त, फराकिलो र उज्यालो कोठामा पुस्तक एवं पत्रपत्रिका पढ्न पुस्तकालयमा आउने पाठक निकै सहज बनाएका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकालय यता सरेपछि पहिलेभन्दा सङ्ख्यात्मकरुपमा अध्ययन गर्न आउने पाठकको सङ्ख्यामा समेत वृद्धि आएको छ ।”
नयाँ भवनमा स्थानान्तरण गरेसँगै नगरपालिकाको आर्थिक सहयोगमा रु पाँच लाख बराबरको पाठकको मागअनुसार बजारमा आएका नयाँ साहित्य, राजनीतिक दर्शन, विद्यार्थीका लागि आवश्यक पुस्तक थपिसकेको प्रमुख मूलले जानकारी दिनुभयो । उहाँले प्रत्येक वर्ष नगरपालिकाकै आर्थिक सहयोगमा आवश्यक पुस्तकसमेत थप्दै जाने बताउनुभयो ।
पुस्तकालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक र साहित्यकारका तस्बीरले थप पठनीय देखिएका छन् । पुस्तकालयमा नयाँ र पुराना गरी हाल एक हजार २०० भन्दाबढी सदस्य रहेका छन् । पुस्तकालय थप व्यवस्थित गर्न सिसी क्यामरा जडान गरिनुका साथै पाठकलाई सहज तुल्याउन १२ हजारभन्दा बढी पुस्तक विद्युतीय दर्ता गर्ने अन्तिम तयारी भइरहेको प्रमुख मुलले बताउनुभयो ।
पुस्तकालयमा पढ्नका लागि राष्ट्रियस्तरका सबै दैनिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रपत्रिकाको व्यवस्थासमेत गरिएको छ । पुस्तकालयमा नेपाली, अङ्ग्रेजी, नेपाल र हिन्दी भाषालगायत विभिन्न साहित्यिक क्षेत्रसँग सम्बन्धित पुस्तकसमेत सङ्कलनमा राखिएका छन् ।
पुस्तकालयमा गोरखापत्र दैनिकको विसं २०५६ यताका सबै अङ्क व्यवस्थितरुपमा अभिलेख राखिएको छ । साथै अन्य विभिन्न राष्ट्रिय पत्रपत्रिकाको दुई दुई वर्षका अभिलेख राख्ने गरिएको छ ।
पुस्तकालयमा चार जना कर्मचारीको व्यवस्था गरेको छ । आम पाठकको सहजताका लागि शनिबारसमेत खुला रहने पुस्तकालय जाडो महीनामा बिहान ११ बजेदेखि ५ बजेसम्म र गर्मी मौसममा ११ बजेदेखि ६ बजेसम्म खुला हुने प्रमुख मुलले बताउनुभयो ।
पछिल्लो समय पुस्तकालय व्यवस्थित भएसँगै पाठकका लागि निःशुल्क इन्टरनेट सुविधादेखि अध्ययन कक्ष र शौचालयका समेत छुट्टै व्यवस्था गरिएको छ । पुस्तकालयमा आधुनिक तबरले विकास गर्न वैज्ञानिक पद्धतिलाई अवलम्बन गरी पुस्तक राखिएका छन् ।
भक्तपुरको इतिहास बोकेको यस पुस्तकालय ख्वपः विश्वविद्यालयको आधारका रुपमा विकास गर्दै जानुका साथै भविष्यमा इ–लाइबेरीका रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको जनाएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू