काठमाडौं, १ जेठ । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।
गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदानप्रदान र साझेदारी विषयक अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प र तिनको कार्यान्वयनका सन्दर्भमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनै संस्थाका प्रमुखहरुले यसको जानकारी दिएका हुन् ।
त्यस्तैगरी नगरपालिकाका इञ्जिनियर÷प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय व्यवस्थापन एवम शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय भएको छ ।
सो अवसरमा सोफेनका अध्यक्ष इन्जिनियर रामदीप साहले सम्मेलनबाट पारित संकल्पहरु नेपालको सन्दर्भमा निकै सान्दर्भिक भएको बताउदै तिनको कार्यान्वयनको सिलसिलामा छिट्टै स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनका चुनौती र सरल एवम् वैज्ञानिक उपायका बारेमा जानकारी दिन आवश्यक भएको बताउनुभयो । उहाँले सम्मेलनका संकल्प सहितका सन्देश तथा जल, वातावरण र जलवायु परिवर्तनका स्थानीय मुद्दाहरुको समाधानका लागि राष्ट्रव्यापी अभियान सञ्चालन गरिने पनि जानकारी दिनुभयो ।
नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष हरेराम श्रेष्ठले पानी, सरसफाई, वातावरण र जलवायु परिवर्तनका विषय हरेक परिवारको तहमा पुग्नुपर्ने भएकाले सम्मेलनबाट पारित संकल्पहरु स्थानीय आवश्यकताहरुलाई ध्यानमा राख्दै कार्यान्वयन गर्ने दिशामा अग्रसर बनाउन देशव्यापी अभियान थालनी गर्न लागेको बताउनुभयो ।
पूर्वमन्त्री गणेश साहले खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुले उक्त अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प सहितका विषयलाई कार्यान्वयन गर्न आगामी बजेटमा यथोचित व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपालका स्थानीय निकायका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि र नेपालसहित विश्वका पानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ र व्यवसायीहरु गरी ७०० भन्दा बढीको सहभागिता रहेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न शत्रमा १८ वटा विशेष अवधारणापत्र र ११६ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनले समापनको अवसरमा ११ बुँदे संकल्प पनि जारी गरेको थियो ।
–––
तपाईंको प्रतिकृयाहरू