काठमाडौँ, २५ मङ्सिर,, माथिल्लो तामाकोशीको साधारण शेयरमा आवेदन गरेका दोलखावासीले रकम फिर्ता नपाएको भन्दै गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न कम्पनीले आफ्नो दावीसहित आवेदन दिन आग्रह गरेको छ ।
कम्पनीले आज एक सूचनामार्फत रकम रकमान्तर हुन नसकेका ५२ हजार आवेदकलाई आगामी पुस १ गतेदेखि आवेदन दिन आग्रह गरेको छ । शेयर आवेदकको नाम नमिलेको, बैंक खाता नम्बर नमिलेको, खाता रोक्का रहेका तथा ग्राहक परिचयपत्र नम्बर नबुझाएका र छ महीनाभन्दा बढी समयसम्म कारोवार नभएको खाताले गर्दा आवेदकले रकम प्राप्त गर्न सकेका थिएनन् ।
रकम खातामा फिर्ता नभएका आवेदकको हकमा पुनःतथ्याङ्क रुजु गरी सम्बन्धित व्यक्तिलाई खातालगायत अन्य विवरण सच्याउन कम्पनीले आग्रह गरेको छ । कम्पनीले रकम प्राप्त गर्न नसकेका आवेदकलाई दरखास्त बुझाएकै दोलखाका सङ्कलन केन्द्र तथा काठमाडौँ उपत्यकामा सनराइज क्यापिटल कमलपोखरीमा चेकमार्फत फिर्ता लिन अनुरोध गरिएको छ । चेकमार्फत रकम फिर्ता गर्दासमेत रकम फिर्ता भुक्तानी प्राप्त गर्न नसके सनराइज क्यापिटलमा सम्पर्क राख्न सूचनामा आग्रह गरिएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीका लागि साधारण शेयर बिक्री गरेको थियो । कम्पनीले दोलखावासीलाई रु एक अर्ब पाँच करोड ९० लाख बराबरको शेयर बिक्री गरेको थियो । उक्त शेयरमा दुई लाख ७६ हजार १९४ ले आवेदन दिएका थिए ।
रकम फिर्ता नपाएपछि दोलखावासीले गुनासो गर्दै आएका थिए । प्राप्त भएको गुनासो सम्बोधन गर्न कम्पनीले आफूले आवेदन गरेको कागजातसहित सम्बन्धित स्थानमा सम्पर्क राख्न अनुरोध गरेको हो । कम्पनीले दोलखावासीलाई बिक्री गरेको शेयरको बाँडफाँट गत कात्तिक १४ गते नै गरिसकेको छ । कम्पनीले गत कात्तिक १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको साधारण शेयरमा नपरेको रकम फिर्ता गरिसकेको छ ।
–––
तपाईंको प्रतिकृयाहरू