दमौली, २० मङ्सिर,, तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान दिनुभएको छ । गाउँपालिकाको पशुपछी शाखाको नाममा करीब रु ७० लाख मूल्य बराबरको जग्गा दान गर्नुभएकी उहाँले मङ्गलबार उक्त जग्गा मालपोत कार्यालयबाट शाखाको नाममा नामसारी गरिदिनुभएको थियो ।
श्रेष्ठका छोरा चिरञ्जीवी श्रेष्ठले भन्नुभयो, “जीवनमा केही योगदान गराँै भन्ने भावना भएको हुँदा हामीले खुशी भएर किसानको हितका निम्ति जग्गा दान गरेका हौँ ।”गाउँपालिकाले उक्त जग्गामा करीब रु एक करोडको लागतमा पशु अस्पताल बनाउने सोचका साथ प्रक्रिया अघि बढाएको पशुपछी शाखाका प्रमुख रामबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले प्रदेश सरकारलाई उक्त अस्पताल बनाउनेबारे जानकारी गराइसकेको छ ।
उक्त गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले गाउँपालिकालाई जग्गा दान गरेर श्रेष्ठ परिवारले ठूलो गुन लगाएको बताउनुभयो । “जग्गा अभावमा पशु अस्पताल बनाउन समस्या भइरहेकाबेला यस जग्गाले अब अस्पताल भवन निर्माणका लागि सहज बनाउनेछ”, उहाँले भन्नुभयो । उक्त गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या दिनप्रतिदिन बढ्दो भएको र तिनको उपचारका लागि अस्पताल नहुँदा समस्या हुँदै आएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू