क्वालालाम्पुर, मलेसिया, ३० वैशाख (रासस÷एएफपी) ः अघिल्लो सरकारद्वारा निर्वाचनका समय हतारमा ल्याएको विवादास्पद ‘झूटा समाचार’ कानूनबारे समिक्षा गर्ने मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहमदले आइतबार प्रतिवद्धता जनाउनुभएको छ ।
अप्रिलको शुरूतिर मलेसियाली पूर्व नेतृत्वले ‘गलत सूचनालाई फैलाउने अभिप्रायले दिइने समाचार अर्थात् ‘फर्जी खबर’ छाप्ने वा प्रशारण गर्ने व्यक्ति वा संस्थालाई भारी जरीवानासहित छ वर्षसम्मको सजायँ’ हुने कानूनलाई पास गरेको थियो भने विपक्षीको विचारलाई नियन्त्रण गर्ने उद्देश्यबाट अभिप्रेरित कानून भन्दै यसको मानव अधिकारवादी समूहबाट व्यापक आलोचना हुँदै आएको छ ।
मलेसियामा विगत ६१ वर्ष सत्ता चलाएकको पूर्व प्रधानमन्त्री नाजिव रजाकको ‘बारिसन नेशनल कोलिसन’ ले विपक्षीको आवाज नियन्त्रण गर्ने उद्देश्यबाट उक्त कानून आएको भन्दै मुलुकभर विरोधका स्वर गुन्जिएका थिए ।
मलेसियाको प्रधानमन्त्रीका रूपमा २२ वर्ष शासन गरी मलेसियाको विकासमा उल्लेख्य योगदान पु¥याउनुभई सन् २००३ मा नेतृत्व छोडेपनि ९३ वर्षको उमेरमा हालै पुन प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री महाथिरले ‘फर्जी समाचार’ कानूनलाई समीक्षा गरी प्रष्टरूपमा परिभाषित गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “फर्जी समाचार कानूनलाई थप परिभाषित गरी प्रष्ट बनाइने छ ।”
“जनता र सञ्चारमाध्यमले के फर्जी समाचार हो र के होइन बुझ्ने गरी परिभाषित गर्ने पहल मैले लिनेछु,” प्रधानमन्त्री महाथिरले राष्ट्रिय टेलिभिजनमार्फत देशबासीलाई गरेको सम्बोधनमा भन्नुभयो ।
सही समाचारले सरकारलाई असहज गर्ने भएपनि आँफूले प्रेसमाथि कुनै नियन्त्रण नगर्ने र पूर्ण प्रेस स्वतन्त्रताका लागि सहयोग गर्ने उहाँले सम्बोधनमा बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी प्रेस स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा काम गर्ने छौँ तर सवैको सीमा त रहन्छ नै ।”
मलेसियामा ‘झूटा समाचार’ कानून कार्यान्वयनका कारण अहिलेसम्म एक डेनिस नागरिकलाई एक हप्ता सुरक्षा नियन्त्रणमा राखिएको थियो । प्यालेष्टिनी हमास समूहका सदस्यलाई क्वालालाम्पुरमा गोली हानी हत्या गरेको समाचारलाई लिएर उनीमाथि कारबाही भएको थियो ।
मलेसियालाई सन् २०१८ मा विश्व प्रेस स्वतन्त्रता सूचिमा सुचिकृत १८० मुलुकमध्ये १४५ औँ स्थानमा राखिएको छ ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू