काठमाडौं
दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा र छक्का पञ्जा–२ ले बक्स अफिसमा वर्षकै सर्वाधिक व्यापार ग¥यो । छक्का पञ्जाले १९ करोड र छक्का पञ्जा–२ ले १५ करोड व्यापार गरेको थियो ।
अब यी दुवै चलचित्रभन्दा बढी व्यापार गर्ने लक्ष्यसहित दीपकराज गिरी र दीपाश्री निरौलाले छक्का पञ्जाको तेस्रो शृंखला छक्का पञ्जा–३ को निर्माण सुरु गरेका छन् ।
यो चलचित्र पनि विगतका चलचित्रजस्ता हाँस्यप्रधान हुने निर्देशक दीपाश्रीले बताइन् । ‘विगतका छक्का पञ्जामा हामीले वैदेशिक रोजगारीको विषयलाई उठाएका थियौं, यसपटक वैदेशिक रोजगारीबाट केही बाहिर निक्लिएर सामाजिक विषयवस्तुलाई हामीले लिएका छौं,’ उनले राजधानीसँग भनिन्, ‘त्यसैले हामीले कलाकारमा पनि केही परिवर्तन गरेका छौं, यसपटक छक्का पञ्जामा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईं आबद्ध भएका छन् ।’
अघिल्लो चलचित्रका दुई अभिनेत्री वर्षा राउत र स्वस्तिमा खड्का छक्का पञ्जामा मुख्य भूमिकामा रहनेछैनन् । उनीहरू विशेष भूमिकामा भएको खण्डमा दर्शकले अचम्म मान्नुनपर्ने भनाइ निर्देशक दीपाश्रीको छ । यस्तै, अभिनेत्री प्रियंका कार्की पनि छक्का पञ्जा–३ मा पहिलाको जस्तो मुख्य भूमिकामा नभएर विशेष भूमिकामा हुनेछिन् ।
यस चलचित्रको शुक्रबार बिहान भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजा गरेर छायांकन सुरु गरिएको छ । चलचित्रको छायांकनबारे दीपाले भनिन्, ‘अहिले हामी काठमाडौं आसपासमा छायांकन गर्दै छौं र यसपछि मकवानपुरको चित्लाङ, दमौली र बाग्लुङलगायत विभिन्न ठाउँमा छायांकन गरिनेछ, चलचित्रको धेरै ठाउँमा छायांकन गरिने भएकाले करिब ४५ दिन हामी सुटिङमा हुनेछौं ।’ यस चलचित्रको निर्मातामा दीपकराज गिरी, दीपाश्री निरौलासँगै जितु नेपाल, केदार घिमिरे, सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौड्याल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् । छक्का पञ्जा–३ मा आफ्नो जोडीको रूपमा दीपिका प्रसार्इंलाई राख्नुको कारणबारे दीपकराजले भने, ‘दर्शकले छक्का पञ्जा–३ मा नयाँ जोडी हेर्न चाहिरहनुभएको र कथाले मागेका कारण हामीले टिममा दीपिकालाई अनुबन्धित गरेका हौं ।’
आमा सरस्वती मुभिजद्वारा निर्मित छक्का पञ्जा–३ मा दीपकराज गिरी, दीपिका प्रसाईं, पुष्प खड्का, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, शिवहरी पौड्याल, जयनन्द लामा, अनुरागमानसिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट र प्रियंका कार्कीको अभिनय रहनेछ । यस चलचित्रमा अर्जुन पोखरेल र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरीको कथा, दीपक, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद रहेको छ ।
saabhar:rajdhanidaily
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू