कपिलवस्तु, २९ वैशाख (रासस) ः कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परे ।
पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सबइन्स्पेक्टर डिएस चतुर्वेदी, कन्स्टेबल नासिर हुसेन र कन्स्टेबल कोमल रहेको प्रहरीले जनाएको छ ।
उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् । शुक्रबार दिउँसो ४ बजे कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले बताउनुभयो ।
नेपाली सुरक्षाकर्मीको नियन्त्रणमा रहेका उनीहरुलाई शुक्रबार राति भारतीय प्रहरी अधिकारीको जिम्मामा छाडिएको थियो ।
भारतीय सुरक्षाकर्मी हतियारसहित कृष्णनगर सीमा नाकाबाट भित्रिँदासमेत सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई पत्तो नहुनुले सीमा क्षेत्रको सुरक्षा अवस्था निकै फितलो भएको दर्शाएको कृष्णनगरका सर्वसाधारण बताउँछन् ।
–––
तपाईंको प्रतिकृयाहरू