०९ माघ २०८१

चोभारको प्रवद्र्धन गर्दै कलाकार

८ मंसिर २०७५, शनिबार १६:२३ मा प्रकाशित

चोभार कीर्तिपुर, ८ मङ्सिर,,   नेपालको राजधानी काठमाडाँै उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको चोभार आफैँमा सुन्दर पर्यटकीय क्षेत्र हो ।

कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारबाट देखिने सुन्दर दृश्यसहित मञ्जु पार्क, बहँदै गरेको वागमती नदी, नदी छेबैको जलविनायक मन्दिर डाँडामाथि आदिनाथको मन्दिर, गुफा र केहीनजिक रहेको टौदह आफैँमा धार्मिक र पर्यटकीय महत्व अनुपम सङ्गम हो । चोभारका ती दृश्यले कलाकारलाई नछुने कुरै भएन ।

आज बिहानै चोभार पुगेका चित्रकारलाई ती दृष्यले लोभ्यायो । चित्रकार राकेशचन्द्र श्रेष्ठ चोभारको मुटुमा रहेको जीर्णाेद्वार हुँदै गरेको जलविनायक मन्दिरका आकर्षक चित्र उतार्नमै व्यस्त हुनुहुन्थ्यो । जल विनायक भनेको काठमाडौँको धेरै गणेशमध्येको एक गणेश हो । मौसम सफा हुँदा यहाँबाट विश्वकै सर्वाेच्च शिखर सगरमाथा समेत यहीँबाट देखिन्छ भन्दा धेरैलाई अनौठो पनि लाग्ला ।

काठमाडौँको कोलाहलबाट मुक्त भएर मन शान्त पार्न पनि यहाँ पुग्ने धेरै छन् । चलचित्रको छायाङ्कनको समेत आकर्षक गन्तव्य चोभार युवा जोडीको साथै विभिन्न क्षेत्रबाट वनभोजका लागि मानिसको आकर्षणको केन्द्र पनि हो । त्यहीँ चोभारमा यसपटक चित्रकारको सहभागिता थियो ।

चित्रकारले मत खसालेर बहुमतको आधारमा आज ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरे । अठार जना चित्रकार सहभागी कार्यशालामा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक कर्ण महर्जनले चोभार ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व बोकेको ठाउँ भएको बताउनुभयो ।

उहाँका अनुसार पहिले काठमाडाँै उपत्यकामा दह थियो । चोभारको गल्छी छिनायो भनेर बस्ती बसाउन सकिन्छ, भन्ने निष्कर्ष निकालेर मञ्जुश्रीले चन्द्रहङ्स खड्गले डाँडो काटेर पानी पठाए र काठमाडाँै बस्नयोग्य भूमि भयो भन्ने कथा छ । यहाँ हिन्दू र बौद्धका मिश्रित कथा समेत जोडिएको महर्जन बताउनुहुन्छ ।

वैज्ञानिक अध्ययनअनुसार आजभन्दा ३० हजार वर्ष अगाडि काठमाडाँैमा पानी धेरै थियो । चोभारको डाँडामा चट्टान कडा र नरम खालको भएकाले पानीको तह बढ्दै गएपछि कमजोर भाग चोइटिंँदै गयो र पछि विस्तारै पानी कम भयो । आजभन्दा ११ हजार वर्ष अगाडि आउँदा पानी निक्कै तल्लो तहमा पुगेको र त्यसको एक हजार वर्ष पछाडि आजभन्दा करीब १० हजार वर्ष अघिबाट भने मानव बस्ती बस्न थालेको अध्ययन रहेको महर्जन बताउनुहुन्छ ।

त्यसैले पनि कलाकारले यसपालि चित्रमा चोभारलाई उतार्न पुगेका हुन् । चोभारमा नेपालकै दोस्रो लामो मानिएको गुफा पनि छ । नजिकै टौदह छ । पर्यटकको सो क्षेत्रमा घुइँचो नै हुन्छ ।

“हामी विभिन्न ठाउँको नाम दिन्छौं, चित्रकारले मतदान गर्नुहुन्छ जुनमा बढी भोट पर्छ त्यहीँ चित्र कोर्न पुग्छौं”, शनिवारीय चित्रकला कार्यशालाका अभियन्ता दिवेश प्रधान भन्नुहुन्छ, “यसपालि कीर्तिपुर, चोभार र टौदहमध्ये चोभार छानिएकाले आएका हौँ ।” प्रधानले मञ्जु पार्कबाट देखिएको वाग्मती नदीसहितको सुन्दर दृष्य चित्रमा उतार्नुभयो । उहाँले चोभारको आफ्नै अस्तित्व रहेको बताउँदै त्यसलाई नजिकबाट अनुभव गरी चित्रकला सिक्न पनि चोभार आएको बताउनुभयो ।

मञ्जुश्रीले काटेको भनिएको गल्ली र त्यस आसपासका सुन्दर दृष्यलाई जलरङमा चोपेर कुची लगाउँदै हुनुहुन्छ अर्का चित्रकार झलकबहादुर खत्री । चित्र कोर्न रामकृष्ण भण्डारी, दीपेन्द्र बनेपाली, राजेन्द्र याकामी, विनोद महर्जन, विक्रम प्रजापति, प्रकाश मानन्धर, दिपना शर्मा, शुष्मा श्रेष्ठलगायतका चित्रकार सहभागी हुनुहुन्थ्यो

“यति धेरै कलाकारले यहाँको चित्र कोर्नुभयो धेरै खुशी छु”, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष सुजिन्द्र महर्जनले भन्नुभयो, “सिधारुपमा भन्दा यसले चोभारको सम्पदा र आकर्षण प्रवद्र्धनमा सहयोग पुग्छ ।”

चित्रकार राकेशचन्द्र श्रेष्ठ र दिवेश प्रधानको योजना मुताविक शुरु भएको स्वतःफूर्त अभियानको यो ११औँ शृङ्खला हो । नयाँ, पुराना र कला छाडेर फेरि फर्किएका कलाकार सहभागी छन् । करीब ४०० सदस्य रहेको फेसबुक समूह छ ।

उनीहरुले मतदानकै आधारमा यसअघि हनुमानढोका, ललितपुरको दरबार स्वायर, भक्तपुर, ठिमी, टेकु, गुह्श्वेरी, खोकना, चाँगुनारायण, पुरानो गुहेश्वरी पुगेर यसैगरी चित्र कोरिसकेका छन् । अभियन्ता दिवेश प्रधान जिल्ला जिल्लामा समेत चित्रकारले अभियान थालेको बताउनुहुन्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter