०५ माघ २०८१

सरकार प्रतिबद्धताबाट बाहिर गएको छैन–मन्त्री अधिकारी

१ मंसिर २०७५, शनिबार १४:५० मा प्रकाशित

पोखरा, १ मङ्सिर ,,   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा निर्मित १२ कोठे पक्की भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनचाहना अनुरुप सुव्यवस्थाका साथै तीनवटै सरकारको समन्वयका माध्यमबाट आर्थिक समृद्धि र विकासको लक्ष्यमा सरकार लागेको बताउनुभयो ।

देश लामो समयसम्म राजनीतिक अस्थिरता एवं सङ्क्रमणमा रुमल्लिएको बताउँदै उहाँले वर्तमान स्थिर एवं दीर्घकालीन सरकार क्षणिकतामा अलमल नगरी अघि बढ्नेमा जोड दिनुभयो । भारत सरकारबाट विद्यालय भवन निर्माणका लागि प्राप्त सहयोग यहाँका विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । विद्यालयले प्रस्ताव गर्दै आएको प्राविधिक शिक्षा कार्यक्रम आगामी शैक्षिक वर्षदेखि सञ्चालन गराउनका लागि आफूले पहल गरिरहेको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।

भारतीय राजदूतावासका उपप्रमुख डा अजय कुमारले भारत सरकारले नेपालको शिक्षालगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने बताउनुभयो । विद्यालयको भवन निर्माणसँगै यस क्षेत्रका बालबालिकाको भविष्य निर्माण समेत भइरहेकोमा उहाँको जोड छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध भएको बताउँदै विद्यालयमा अङ्ग्रेजी तथा नेपाली दुबै माध्यम गरी हाल एक हजार ९६ जना विद्यार्थी अध्ययन गरिरहेको जानकारी दिनुभयो । नवनिर्मित भवन रु तीन करोड ६३ लाख २५ हजार (भ्याट बाहेक)मा निर्माण सम्पन्न भएको जनाइएको छ ।

प्रधानाध्यापक लालप्रसाद भण्डारीले नवनिर्मित भवनबाट विद्यालयको पठनपाठनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री, प्रदेशसभा सदस्य कृष्ण थापा, जिल्ला समन्वय अधिकारी डिल्लीराम सिग्देल, वडा अध्यक्ष शिवप्रसाद आचार्यले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter