११ माघ २०८१

नगरक्षेत्रको फोहरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

२५ कार्तिक २०७५, आईतवार ११:४१ मा प्रकाशित

लहान, २५ कात्तिक ,,   फोहर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला नजिकैको खोलामा फ्याँकिदै आएको छ ।

गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ सङ्कलन हुने फोहरमैला गोलबजार नजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहरको थुप्रोसमेत बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुल नजिक दिनहुँ अव्यस्थित तरिकाले फोहर फ्याँल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएको स्थानीयवासीले बताएका छन् । खोलामा फ्याँकिने गरेको फोहरका कारण बजार क्षेत्र तथा राजमार्र्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंह बताउनुहुन्छ । फोहरको उचित व्यवस्थापन नहँुदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको सिंहको भनाइ छ ।

फोहर व्यवस्थापन गरी कुहिने फोहरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुनसक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले त्यसतर्फ उचित ध्यान नदिँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साह बताउनुहुन्छ ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुशी फोहर नफाल्न र फालेको भेटिए कारवाही हुने बताए पनि नगरपालिकाले आफँैले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सिधैँ फोहर फ्याँल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको कथन छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याँल्ने कुनै डम्पिङसाइट नहँुदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहरमैला व्यवस्थापन गरिँदै आएको बताउदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने जानकारी दिनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter