भद्रपुर, १५ कात्तिक ,, साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ ।
रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको छ ।
सरकारले साना चिया किसानलाई ५० प्रतिशत अनुदान दिन थालेसँगै किसान आफैँले कारखाना शुरु गरेका छन् । यसअघि झापाको पृथ्वीनगर र बाहुनडाँगीमा पनि सहकारीले नै कारखाना सञ्चालन गर्दै आएका छन् ।
यस सहकारीले पनि ५० प्रतिशत नेपाल सरकारको अनुदान र आफ्नो ५० प्रतिशत लगानीमा चिया कारखाना शुरु गरेको संस्थाका पूर्वलेखा संयोजक हरिकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
चिया खेतीमा सदस्यलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहकारीको माध्यमबाट कारखाना स्थापना गरी उत्पादन शुरु गरेको उहाँको भनाइ छ । सहकारीमा १२० जना सदस्य चिया खेतीमा आबद्ध छन् ।
दैनिक चार हजार किलो चिया उत्पादन गर्ने लक्ष्य लिएको सहकारीले तयारी चियालाई देशभर सहकारीले नै सञ्चालन गर्दै आएको सुपथ मूल्यको बजारबाट बिक्री गरिने लक्ष्य रहेको अधिकारीले बताउनुभयो । जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना सञ्चालनमा छन् ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू