काठमाडौँ, १४ कात्तिक,, काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
गत साउनदेखि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुँदै आएको ट्रक तथा टिपर आजदेखि कात्तिक मसान्तसम्मलाई दुई घण्टा बढाएर साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्तकुमार पन्तले जानकारी दिनुभयो । बैठकले तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वलाई लक्ष्य गरी सुरक्षालाई थप प्रभावकारी बनाउने, देउसीभैलो कार्यक्रमलाई १० बजेसम्म सञ्चालन गर्न दिने, पटकालगायतका वस्तुलाई पूर्णतया नियन्त्रण गर्ने निर्णयसमेत गरेको छ ।
लागुऔषधसहित पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ९५ एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध बिक्री वितरण गर्दै हिँडिरहेको अवस्थामा सुर्खेतका ३८ वर्षीय हर्षबहादुर शाही र रामेछापका ३८ वर्षीय झपडबहादुर कार्कीलाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरुबाट ३६५ एम्पुल डाइजेपाम, ३६५ एम्पुल फेर्नागन र ३६५ एम्पुल नुर्फिन बरामद गरेको छ । पक्राउ परेका शाही सशस्त्र प्रहरी निलबराही गण बलम्बुमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत रहँदा २०६४ सालमा कमलादीस्थित बैँक अफ काठमाडौँ लुटपाटको घटनामा संलग्न रही १० वर्ष कैद भुक्तान गरी छुटेपछि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू