०८ माघ २०८१

मोहनी नखः सम्पन्न

७ कार्तिक २०७५, बुधबार १५:०१ मा प्रकाशित

काठमाडौँ, ७ कात्तिक,,   नेवार समुदायले नखत्या भ्वय् (भोज ) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ ।
मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, पाल्पा, पर्सा आदि स्थानलगायत कामका लागि अमेरिका, बेलायत, जापान आदि विभिन्न मुलुकमा बसोबास गर्ने नेवार समुदायले मनाएको हो ।
मोहनी नखःअन्तर्गत अष्टमीका दिन कुलछि (कुलका परिवार सदस्य ) भ्वय, नवमीका दिन स्याक्वत्याक्व तथा चालँ हर्षोल्लासका साथ सम्पन्न गरिसकेको नेवार समुदायले दशमीदेखि पूर्णिमासम्म आफ्ना दिदीबहिनी तथा छोरीज्वाइँलाई नखत्या भ्वय (भोज) मा बोलाउनुपर्ने प्रचलन छ । मृत्यु भएका आफ्ना पूर्वज तथा देवदेवीलाई सर्वप्रथम भोज खुवाई शुरु हुने मोहनी पर्व दशमीदेखि पूर्णिमासम्म दिदीबहिनी तथा छोरीज्वाइँलाई भोज खुवाइसकेसँगै यस वर्षको मोहनी समाप्त हुन्छ ।
नेवार बौद्ध समुदायले गुरु मण्डलाश्चरणको विधिबाट बुद्ध, धर्म र संघको आह्वान गरी सकल सत्वप्राणी मात्रको जगतोद्धारको सङ्कल्पका साथ सो पूजा हुन्छ । आगम छेँका देवी हेर्न वा देखाउन नहुने मान्यता रहेको गुह्यतन्त्र अथवा तान्त्रिक विद्याबाट परिष्कृत मान्यताका बीच नेवार समुदायले मोहनी नखः मनाउँछ । बौद्ध परम्पराबाट विकसित नेवार समुदायले बुद्ध, धर्म र सङ्घका साथै बुद्ध चैत्यको प्रतीक ‘ग्वजा‘ हरेक पूजामा प्रयोग गर्छन् भने हिन्दू परम्पराबाट विकास भएको नेवार समुदायले तुलजा भवानीको पूजा तथा स्याक्वत्याक्वका दिन बलि दिने प्रचलन छ । नेवार समुदायका सबै जातजातिमा कुलछि भ्वय, स्याक्वत्याक्व तथा चालँ गर्ने परम्परा छ ।
नेपाल संवत् ४४४ मा नान्यदेवका सन्तान राजा हरिसिंह देवले नेपालमा राज्य गरेपछि भक्तपुरमा तलेजु मन्दिर बनाएर तुलजा भवानीको पूजा गर्ने प्रचलन चलाएको इतिहास छ । राजा महेन्द्र मल्लका पालामा काठमाडौँको हनुमानढोकामा तुलजा भवानीको मन्दिर बनाउन लगाइएको थियो । यस बेलादेखि नेपालमा बलिप्रथा शुरु भएको विश्वास गरिएको छ ।
बौद्ध विद्वान् राजेन्द्रमान बज्राचार्यका अनुसार बज्रयान परम्परानुसार पूजा सङ्कल्प गर्दा बौद्ध परम्पराको शून्यताको भावमा गर्ने प्रचलन रहेको पाइन्छ । नेवार बौद्ध समुदायले गुरु मण्डलाश्चरणको विधिबाट मोहनी पूजा सम्पन्न गर्दै आन्तरिक तथा बाह्य मार अर्थात् काय, वाक र चित्तबाट हुने दश अकुशलादि कर्मबाट मुक्त हुने दर्शन ज्ञान प्राप्त गर्ने उहाँको धारणा छ । साथै अरूलाई समेत सोअनुसारको उपाय सिकाउने बौद्ध परम्परा छ ।
उहाँका अनुसार स्याक्वत्याक्वको अर्थ काटमार होइन । यसको अर्थ जति शिक्षा ग्रहण गरी सिक्न सक्यो त्यो नै जीत हो । त्यसैले नवमीमा स्याक्वत्याक्व (सयेकुक्व त्यात) भनेर देवदेवीको पूजाराधना गरिन्छ । त्यसलाई जति सिक्यो त्यति फाइदा भनी गुरु बज्रसत्वको आह्वानसहित भनिएको ‘सयेकुक्व त्यात’को (जति सिक्यो त्यति फाइदा) अपभ्र्रंश भई स्याक्वत्यक्व भन्ने गरेको उहाँको भनाइ छ ।
अर्का बौद्धविद्वान् यज्ञमानपति बज्राचार्यका अनुसार नेवार समुदायले मनाउँदै आएको मोहनी र दशैँमा धेरै भिन्नता छ । मोहनी भनेको दशैँ होइन भन्ने उहाँ स्पष्ट पार्नुहुन्छ । हिन्दू परम्परामा दशमीको विशेष महत्व छ । दशमीबाट नै दशैँ भएको हो । वर्षभरीका २४ दशमीमा सबैभन्दा ठूलो दशमी भएकाले यसलाई बडादशैँ भनिएको हो । नेवारी परम्परानुसार कायाअष्टमी तथा कुमारीबाट राजाले टीका लगाएको दिन मोहनी शुरु हुने उहाँको भनाइ छ । कायाअष्टमीदेखि नै मालश्रीको धून बजिसक्ने भएकाले त्यो दिनदेखि नै मोहनी शुरु हुन्छ ।
बौद्धअनुसन्धानकर्ता आनन्दमुनि बज्राचार्यका अनुसार बज्रयान बौद्धधर्ममा बुद्धधर्मका साथै गुह्य अर्थात् देवदेवी देखाउन नहुने मान्यता पनि छ । बुद्धधर्मको विकास क्रममा महायान बुद्धधर्म, हीनयान बुद्धधर्म र बज्रयान जन्मेका छन् । बज्रयान बुद्धधर्ममा दीक्षा लिएकाहरुले मात्र बज्रयान बौद्धधर्ममा लीन हुने अवसर पाउँछन् । बज्रयान बुद्धधर्ममा बुद्ध मण्डलभित्र चैत्यको प्रत ीक ग्वजाको प्रयोग हुन्छ । मोहनी नखभित्रको गुह्यता अनुुसन्धान तथा अध्ययनको पाटोभित्र पर्छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter