०५ माघ २०८१

पुनहिलमा पर्यटकको भीड

२५ आश्विन २०७५, बिहीबार १४:२१ मा प्रकाशित

बेनी, २५ असोज,,   अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।

अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन गर्बुजा पुनले बताउनुभयो । उहाँका अनुसार, घोडेपानी हुँदै पुनहिल क्षेत्रको भम्रणमा आउने अधिकांश पर्यटक बाह्य मुलुकका रहेका छन् । गुराँसे जङ्गल हुँदै पुनहिल पुगेका पर्यटक बिहानी सूर्योदयको अवलोकनसँगै गुर्जा, धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े नीलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गरी फर्कने गरेका छन् ।

अन्नपूर्ण फेरोको पदमार्गले समेटिएको पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले आफू चार पटकसम्म यस क्षेत्रको भ्रणमा आएको पुनहिलमा पुगेका क्यानडाका पर्यटक नर्मनले बताउनुभयो । “म ७८ वर्षको भएँ, मलाई यो ठाउँ असाध्यै मन पर्छ, म चार पटक नेपाल आएँ, चारै पटक यसै क्षेत्रको भ्रमणमा आएको छु, यहाँको सुन्दरता र पर्यटकीय व्यवस्थापनले मलाई आकर्षित गरेको छ”, उहाँले भन्नुभयो ।

विभिन्न क्षेत्रबाट आउने पर्यटकको आवास र खानाको लागि घोडेपानीमा २३ सुविधासम्पन्न होटल सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेको स्थानीय होटल व्यवसायी ओमनारायण पुनले बताउनुभयो । “पहिले केही समस्या थियो, अहिले यहाँका व्यवसायीले होटलको क्षमता विस्तार गर्दै लगेका छन्, यहाँ आउने पर्यटकलाई खान र बस्नको कुनै समस्या छैन, हामीले पर्यटकलाई आरामदायी बसाईलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter