०४ माघ २०८१

गौरादह खुला दिसामुक्त घोषणा

२२ आश्विन २०७५, सोमबार ११:१५ मा प्रकाशित

भद्रपुर, २२ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ ।

१२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुला दिसामुक्त अभियानको सहजीकरण गरेको थियो । भीआइपीहरूको नगरपालिकाको रूपमा चिनिने गौरादह झापाको दशौँ स्थानीय तहको रूपमा खुला दिसामुक्त घोषणा भएको छ ।

गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रसँगै अर्थमन्त्री डा युवराज खतिवडा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रदेश नं १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलगायतका विशिष्ट व्यक्तिहरूको गृहनगर हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुलीले जिल्लालाई खुला दिसामुक्त घोषणा गरी यसै महीनादेखि पूर्णसफाइ अभियान अघि बढाइने बताउनुभयो ।

कार्यक्रममा नगरपालिका प्रमुख रोहितकुमार साहले गौरादह खुला दिशामुक्त नगर घोषणामा ढिलाइ भए पनि सरसफाइ प्रवद्र्धनमा अन्य स्थानीय तहका लागि नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । खुला दिसामुक्त अभियानमा सहयोग गर्ने सङ्घसंस्था, निकाय र अभियानकर्ताका साथै आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने घरधुरीलाई सो अवसरमा सम्मान गरिएको थियो ।

१५ स्थानीय तह रहेको झापा जिल्लामा यही असोज २२ गते दमक र २४ गते कचनकवल घोषणा हुँदैछन् । जिल्लामा खुला दिसामुक्त घोषणा गर्नका लागि हल्दिबारी गाउँपालिका तथा भद्रपुर र मेचीनगर नगरपालिका मात्र बाँकी रहेको ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका संयोजक विनोद शर्माले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter