इस्लामावाद, २३ वैशाख (रासस÷सिन्ह्वा) ः पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ ।
पाकिस्तानको दक्षिणपश्चिमी बालुचिस्तान प्रान्तमा शनिबार दुईवटा कोइलाखानीमा छुट्टा छुट्टै विस्फोट भएको हो ।
पहिलो विस्फोट बलुचिस्तानको राजधानी क्वेटा नजिकै पर्ने पिर इस्मेल भन्ने ठाउँमा भएको समाचारमा जनाइएको छ ।
त्यस दुर्घटनामा परी मृत्यु भएकामध्ये १६ जनाको शव निकालिएको छ । घटनास्थलमा प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणको टोलीले उद्धार तथा खोजी कार्यको नेतृत्व गरेको थियो ।
कम्तीमा पाँच जना मजदुर अझै पनि पुरिएकाले अधिकारीहरुले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताएका छन् ।
राजधानी क्वेटा नजिकैको मार्गीतमा भएको अर्को छुट्टै कोइलाखानीमा ग्यास विस्फोट हुदा कम्तीमा दुई जना मारिएका छन् भने १३ जना घाइते भएका छन् ।
घटनामा परी अरु दर्जन भन्दा बढी हराईरहेकाले उनीहरुको खोजी तथा उद्धार कार्य भईरहेको अधिकारीहरुले बताएका छन् ।
घाइतेहरुलाई स्थानीय मार्गीत अस्पतालमा लगिएको छ भने घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेमध्ये चार जनालाई क्वेटामा रहेको सिभिल अस्पतालमा लगिएको छ ।
दुर्घटनामा पर्नेमा अधिकांश मजदुरहरु रहेका छन् । उनीहरु साङ्ला जिल्लाका नागरिक हुन् ।
तपाईंको प्रतिकृयाहरू