एजेन्सी/जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या बढेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म मृतकको संख्या १०३२  पुगेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले खोजी र उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।

सो भूकम्प र सुनामीका कारण ५ सय भन्दा बढी घाइते भएका छन् । सुलावेसी टापुमा अझै पनि भूकम्पपछिको परकम्प आउने क्रम नरोकिएकाले मानिसहरु त्रासमा छन् ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकको संख्या हजारभन्दा बढी हुनसक्ने बताएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरबासी रहेका छन् । सयौं घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका भवनमा पनि क्षति भएकाले घाइतेको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ । कतिपय मृत्यु भएकाको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ ।

इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प आएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयमसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौं मानिस हराइरहेको अनुमान गरिएको छ ।

भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति प¥याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउनेक्रम जारी रहेको बताएका छन् ।

सरकारको आपतकालीन सेवा एजेन्सीका प्रवक्ता सुतोपो पूर्वो नुगोरोले पालु र डोंगालामा मृत्यु हुनेको संख्या बढ्न सक्ने औल्याएका छन् । उनले भने, ‘प्रभावितलाई सुरक्षित स्थानमा निकाल्ने र मारिएकाको पहिचान गर्ने काम अझै चलिरहेको छ ।

पालू र डोंगाल दुवै सहरमा मृत्यु हुनेको संख्या बढ्न सक्छ । हामीलाई केही स्थानमा सुनामी ६ मिटरभन्दा माथिसम्म आएको र त्यो भन्दा अग्ला रुखमा चढेर मानिसहरुले ज्यान जोगाएको रिपोर्ट आएको छ ।’

उपराष्ट्रपति युसुफ कल्लाले अझै पनि भूकम्पको केन्द्रविन्दू नजिकै रहेको डोंगालामा भएको क्षतिको विवरण आइनसकेको जनाएका छन् । जहाँ मृतकको संख्या सयौं हुनुसक्ने अनुमानछ । डोंगालामा करिब ३ लाख मानिसको बसोबास रहेको छ ।

अन्तर्राष्ट्रिय रेडक्रसका जेन गेफलेन्डले उद्दारकर्मी प्रभावित क्षेत्रमा जाने कोशिस गरिरहेको जनाएका छन् । उनले भने, ‘उद्दारकर्मी पालू सहरसम्म पुगेका छन् । डोंगालका केही टाढाका इलाकामा पुग्न अझै सकिरहेका छैनन् ।’ संसारका सक्रिय ज्वालामुखीमध्ये आधा इन्डोनेसियामा पर्छन् । त्यसैले यो क्षेत्रलाई ‘रिङ्ग अफ फायर’ भनेर पनि चिनिन्छ ।

गत महिना लोम्बोकमा आएको शक्तिशाली भूकम्पमा परी ४ सय ६० जनाको मृत्उु भएको थियो । सन् २००४ मा इन्डोनेसियामा आएको भूकम्पका कारण आएको सुनामीले हिन्द महासागरको तटमा ठूलो जनधनको क्षति मच्चाएको थियो ।