मुसिकोट, १० असोज,, रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् ।
जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ । विगत १५ महिनादेखि चौरजहारी विमानस्थलको हवाई सेवा ठप्प बनेको विमानस्थल स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताउनुभयो । नेपाल वायुसेवा निगमसँग प्रयाप्त जहाज र पाइलट नभएको भन्दै चौरजहारी विमानस्थलको हवाई सेवा बन्द गरिएको उहाँको भनाइ छ ।
यता सदरमुकाम मुसिकोटस्थित सल्ले विमानस्थलको हवाई सेवासमेत बन्द भएको दुई महिना पुगेको छ । सल्ले विमानस्थल स्टेशन प्रमुख अमरदीप राईका अनुसार निगमसँग भएका पुराना दुई जहाजको नेपालगञ्जमा मर्मत कार्य भइरहेकाले यहाँको हवाई सेवा रोकिएको छ । जहाज मर्मतको काम अन्तिम चरणमा पुगेकाले अबको एकहप्ता भित्रै सल्ले विमानस्थलको हवाई सेवा पुनःसञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
गत वर्ष जेठको अन्तिम सातादेखि बन्द भएको चौरजहारी विमानस्थलमा हवाई सेवा पुनःसञ्चालनमा नआउँदा रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिक समस्यामा परेका छन् । यस्तै दुई महिनाअघिबाट सल्ले विमानस्थलको हवाई सेवा रोकिएपछि रुकुम पश्चिम र पूर्वका सेवाग्राहीलाई समस्या भएको छ ।
जिल्लाका दुई वटै विमानस्थल उडानविहीन भएको भन्दै सेवा सञ्चालनका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । जिल्लाबाट बाहिर जाने सडकको अवस्थासमेत बिग्रिएको र जटिल प्रकृतिका बिरामी र गर्भवती महिलालाई अन्यत्र रिफर गर्दा समस्या हुने देखिएकाले उक्त प्रयास गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू