०७ माघ २०८१

सभामुख महरासंग चिनियाँ प्रतिनिधिमण्डलको भेट

२३ भाद्र २०७५, शनिबार १६:०६ मा प्रकाशित

काठमाडौँ, २३ भदौ ,,  चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ ।

भेटका क्रममा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको स्मरण गराउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाएको बताउनुभएको थियो ।

“नेपाल–चीन सम्बन्धको इतिहास आफैँमा निकै पुरानो छ”, उहाँले भन्नुभयो, “त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, सांस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्दत पुगेको छ ।”

सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारका तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । “नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग छ”, उहाँले भन्नुभयो, “नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ ।”

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपालमा कुनै पनि खालका चीन विरोधी गतिविधि नहुने बताउनुभयो ।

नेपाल लामो राजनीतिक सङ्घर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ अघि बढिरहेको र सङ्घीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको छ भन्दै उहाँले सङ्घीय पद्धति र प्रक्रियाबारे लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्न चाहेको बताउनुभएको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिनुभयो ।

भेटमा सचिव यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिका एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताउनुभयो । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजना कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालले लिएको ‘एक चीन नीति’को प्रशंसा गर्दै सचिव यिंग्जेले असल छिमेकीले निर्वाह गर्नुपर्ने भूमिका नेपालले पूरा गरिरहेको बताउनुभएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter