कपिलवस्तु भदौ २० ,, कपिलबस्तु बहुमुखी क्याम्पस तौलिहवामा अध्यनरत छात्रा सालिनी पाण्डेले ७८.२० प्रतिशत अंक ल्याएर प्रदेश ५ मै सर्वोत्कृष्ट भएकी हुन् । सो क्याम्पसका अन्य विद्यार्थीहरुले समेत प्रदेशमा उत्कृष्ट नतिजा ल्याएको बताईएको छ । प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यार्थीलाई अभिनन्दन तथा बधाई कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसमा विद्यार्थी र प्राध्यापकहरुको सहयोग, मेहनत र प्रयासले यो सफलता प्राप्त भएको क्याम्पस प्रमुख नवराज तिवारीले बताए । प्रदेश ५ मामात्र नभएर प्रदेश नं ६, ७ को तुलनामासमेत आफ्नो क्याम्पसको नतिजा सर्वोत्कृष्ट भएको तिवारीले बताए । कपिलवस्तु नगरपालिकाका वडा अध्यक्षहरु सुदिप पौडेल र प्रकाश गैरेले कपिलवस्तु नगरपालिका र प्रदेशकै नाम उच्च राख्न सफल पार्ने छात्रा सालिनी पाण्डेय तथा अन्य विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना प्रदान गरे । नगरपालिकाले शैक्षिक विकास र जिल्लाको इतिहास रच्ने काम गर्ने विद्यार्थी तथा शैक्षिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने बताईएको छ । सहायक क्याम्पस प्रमुख विनय कुमार पाण्डेयले पठनपाठनमा नयाँ आयामका साथ काम गरिएकोले क्याम्पसमा नतिजाहरु राम्रा आउन लागेको बताए । आगामी दिनमा नयाँ व्यवस्थापनका साथ पठनपाठनको व्यवस्था मिलाउने उनको भनाइ छ । व्यवस्थापन संकायका संयोजक रमेश घिमिरेले विद्यार्थीको लगनशिलता र अनुशासनले नतिजा राम्रो ल्याउन सफल भएको बताए । उत्कृष्ट नतिजा ल्याउन सफल सालिना पाण्डेले मेहनत र शिक्षकहरुको प्रेरणाले गर्दा आफुले सफलता पाएको बताइन् । क्याम्पसले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मानका साथ तौलिहवा नगर परिक्रमा गराएको थियो ।
|
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू