काठमाडौँ, १७ भदौ ,, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विभिन्न माग राखी आन्दोलनरत सबै पक्षलाई राजनीतिको मूल प्रवाहमा ल्याउनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले सबै पक्षहरुलाई राजनीतिको मूल प्रवाहमा ल्याउने गरी वार्ता गर्न टोलीलाई आग्रह गर्नुभयो ।
गत भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका विभिन्न समूहसँग वार्ता गर्न सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पूर्वसभासद् सुरेश आले मगर, लीला भण्डारी, ताराकान्त चौधरीलगायत रहेको उच्चस्तरीय वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीसँग आज गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले शान्ति, स्थिरता र सुशासन आजको आवश्यकता रहेको भन्दै त्यसलाई सार्थकता दिन सबै पक्षसँग संवादलाई जोड दिन वार्ता टोलीका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
गृह मन्त्रालयसँगको समन्वयमा वार्ता टोलीले काम गर्ने भएकाले मन्त्रालयका तर्फबाट सबै किसिमको सहयोग वार्ता टोलीलाई हुने गृहमन्त्रीले बताउनुभयो । वार्ता समितिका संयोजक पाण्डेले टोली गठन भएपछिको अवस्था र वार्ताका लागि भइरहेका प्रयासका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू