काठमाडौँ, ३० साउन , राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने एशियाली खेलकूद प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रको प्रतिष्ठा उच्च राख्दै पूर्ण अनुशासित भएर स्पर्धा गर्न आह्वान गर्नुभएको छ ।
उक्त प्रतियोगितामा भाग लिने नेपाली खेलाडीलाई राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रममा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले खेलकूदको मर्म र भावनाअनुरुप प्रतिस्पर्धामा खरो उत्रन आग्रह गर्नुभयो ।
उहाँले देशभित्रै खेलकूदका पूर्वाधार निर्माण गर्न सकेमा अन्तर्राष्ट्रियस्तरका खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्न सकिने बताउँदै त्यसतर्फ सम्बन्धित निकायको ध्यान आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले खेलाडीलाई जीवन निर्वाहका साथै उनीहरुको स्वास्थ्यका बारेमा पनि आवश्यक व्यवस्था गर्न सरकारले सोच्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव एवम् ‘सेफ द मिसन’ केशवकुमार विष्टलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभयो ।
सेफ द मिसन विष्टले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीको परिचय प्रस्तुत गर्दै नेपालको गौरव र गरिमा खेलकूदका माध्यमबाट उच्च राख्न खेलाडीले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आधा शताब्दी लामो नेपालको खेलकूद इतिहासको चर्चा गर्दै सीमित स्रोतसाधन तथा खेलाडीको मिहिनेतबाट प्राप्त उपलब्धिको सराहना गर्नुभयो ।
उक्त प्रतियोगितामा नेपालसहित ४५ देशले भाग लिँदैछन् भने नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्नेछ । एशियाडमा सरकारी टोली, प्रशिक्षक तथा खेलाडी गरी ३०० जनाको सहभागिता हुनेछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू