काठमाडौँ, १४ साउन (रासस) ः वातावरणीय सुधारका लागि काठमाडौँ महानगरपालिकालाई चीनको छेङ्दु नगरले दुई वटा ब्रुमर प्रदान गरेको छ ।
चीनको छेङ्दु नगरका प्रतिनिधि वाङ ग्वाङ्लियाङले कामपा वातावरण महाशाखा प्रमुख हरि कुँवरलाई सडक सफाइमा प्रयोग हुने दुई वटा ब्रुमरको साँचो आइतबार हस्तानान्तरण गरेको हो ।
नेपाल र चीनको समृद्धिका लागि गैरसरकारी संस्थाको परिचालनबाट सामाजिक परिवर्तन गर्ने सम्बन्धमा यहाँ भएको तीनवर्षे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उक्त साँचो प्रदान गरिएको हो ।
सहमतिपत्रमा नेपालका तर्फबाट समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट र चीनका तर्फबाट चाइना एनजिओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जका सदस्य सचिव जु रुईले हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा नेपालका लागि चीनका राजदूत यु होङ्लगायत उच्च अधिकारी तथा चीनका गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
छेङ्दुले महानगरलाई दिने ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमरको लम्बाइ आठ दशमलव छ मिटर र चौडाइ तीन दशमलव पाँच मिटरको छ । १५ दशमलव आठ मेट्रिक टन तौल भएका उक्त बु्रमर डिजेलले चल्ने बताइएको छ ।
धुलो पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने उक्त बु्रमरको सात घनमिटर धुलो संकलन र सात घनमिटर पानी बोक्ने क्षमता छ ।
सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्ने छ । ९८ किमी प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रतिघण्टा तीन किमीदेखि २० किमीसम्म सडक सफा गर्न सक्नेछ ।
विसं २०७२ को भूकम्पबाट क्षति पुगेको वसन्तुपरको नौतले दरबार पुनःनिर्माणमा चीन सरकारले काम गरिरहेको छ । आजभन्दा ४५ वर्ष अगाडि चीन सरकारले निर्माण गरिदिएको चक्रपथ अहिले पनि चीन सरकारले नै विस्तार गरिरहेको छ ।
गत वर्ष काठमाडौँ महानगरमा जनप्रतिनिधि आएपछि पहिलो कामका रुपमा सफा शहर रहेको थियो । सोही कार्यको सार्थकताका लागि चीनले कामपालाई उक्त फोहर सफा गर्ने उपकरण दिने तयारी गरेको हो । उक्त उपकरण आगामाी दुई महिनामा काठमाडौँ आइपुग्ने पनि कामपाले जनाएको छ ।
अन्य पाँच बु्रमर पनि ल्याउनका लागि खरिदको तयारी भइरहेको कामपाले सो अवसरमा जानकारी दिइयो ।
–––
तपाईंको प्रतिकृयाहरू