दुनियाँको विराट चोकमा
मैले आफ्नो मायापन छोडेर हिंडेँ
मैले आफ्नो पागलपन छोडेर हिंडेँ
त्यो चोकमा
तिमी आयौ
भुकम्प आए झैँ
अनि चुपचाप बिलायौ
अँध्यारोमा आफ्नै छाया बिलाए झै
अनि सुस्तरी घचेट्न थाल्यौ चिच्याउँदै,
“फर्क मेरो प्रियतम् फर्क।”
अहँ…अब सम्भव रहेन
सुनसान वनमा
पंखा झैँ मुरलीवादकका औँला चले झैँ
तिम्रो केशमा प्रेमको वास्नादार हावा चल्थ्यो
समुद्रको वाफिलो हुरी झैँ
स्वर्गरूपी बगैंचामा
हामी भुवाको डरले एकअर्कामा चट्टान झैँ
अंकमाल गरि
चुम्बनको स्वादमा कसिन्थ्यौँ
गुलाफको गुफामा
पुतलीको नजरबन्दले
हामी हराउँथ्यौँ
घन्टौं, दिनहुँ, महिनौं
अनासय
वर्षात् ऋतुको प्रभातसँगै
अर्धनिन्द्रामा हुँदा
नुनिलो पानी मेरो मुखमा खस्यो
तारेभीर खसेजस्तो
समुन्द्र फुटेजस्तो
अनि, म ब्युझेँ झ्स्याङ्ग्ग…
न त त्यो तारेभीरको पहिरो थियो
न त त्यो समुन्द्र फुटेको आवाज थियो
त्यो त हाम्रै बिछोडमा
दुनियाँले मनाइरहेको शोकत्सव थियो
मार्मिक धुन थियो
खसेको त्यो पानी
मेरै आँसुको छहरा थियो
त्यो दिन र आजमा फरक छ
त्यो दिन मैले
मेरो आँसुको छहरा देखेर हाँसें ।
आजको दिन
मैले आज मेरो लास देखेर बाँचें ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू