०५ माघ २०८१

सम्बन्धन दिएको विरोधमा प्राध्यापक–विद्यार्थी आन्दोलित

३२ असार २०७५, सोमबार १६:०७ मा प्रकाशित

रत्ननगर, चितवन, ३२ असार (रासस) ः कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर चितवनले निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा प्राध्यापक र विद्यार्थी आन्दोलित भएका छन् ।

आन्दोलनरत प्राध्यापकले आज विश्वविद्यालयमा पत्रकार सम्मेलन गरी निजी क्याम्पसलाई दिएको सम्बन्धन खारेजीको माग गरेका छन् । विद्यार्थीले विरोध प्रदर्शन र धर्ना दिँदै आएकामा अहिले भने प्राध्यापकसमेत आन्दोलनमा उत्रिएका हुन् ।

विश्वविद्यालयका एकजना उपप्राध्यापक अनन्तप्रकाश सुवेदीले सम्बन्धन खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो । अघिल्लो वर्ष पनि सम्बन्धनको विषयमा प्राध्यापक र विद्यार्थीले आन्दोलन गरेका थिए ।

विद्यार्थीले सम्बन्धन खारेजीको माग गर्दै असार २६ गतेबाट नै विरोध प्रदर्शन र धर्ना कार्यक्रम जारी राखेको एक विद्यार्थी नेता नगेन्द्र दाहालले प्रतिक्रिया दिनुभयो ।

हालै मात्र उक्त विश्वविद्यालयले विभिन्न स्थानमा सातवटा क्याम्पसका लागि सम्बन्धन दिएको थियो । चार वर्षअघि दर्खास्त आह्वान गरेकोमा २४ निजी क्याम्पसले आवेदन दर्ता गराएकामा मापदण्ड पुगेका सात क्याम्पसमा सम्बन्धन दिएको विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

सरकारी क्याम्पसले मात्रै सबै सेवा दिन नसक्ने भएकाले निजी कलेजलाई सम्बन्धन दिनुपरेको उहाँले बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षामा भने कुनै सम्झौता नहुने प्रतिबद्धता जनाउनुभएको छ । विद्यार्थीहरुको संख्या धेरै भएकाले पनि सम्बन्धन दिनु आवश्यक भएको उहाँको भनाइ छ ।

कृषि स्नातकमा सम्बन्धन पाउनेहरुमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, कृषि विज्ञान कलेज इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैँंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा युनाइटेड पब्लिक स्कुल कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेत रहेका छन् ।

उपकुलपति ढकालका अनुसार सबै कलेजले ५०÷५० जना विद्यार्थी भर्ना गर्न पाउनेछन् । विश्वविद्यालयले हालसम्म चारवटा आंगिक क्याम्पस सञ्चालनमा ल्याएको छ । आउँदो शैक्षिक सत्रसम्ममा थप चारवटा आंगिक क्याम्पस सञ्चालनका लागि गृहकार्य भइरहेको ढकालले बताउनुभयो ।

उपकुलपति ढकालले निजी सम्बन्धन पाएजति नै आंगिक क्याम्पस आउदो शैक्षिक सत्रबाट सञ्चालन गर्ने तयारी भइरहेको समेत बताउनुभयो । सरकारले प्राविधिक शिक्षा पढाउनका लागि भन्दै विसं २०६७ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter