काठमाडौँ, २९ असार (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले अनशनरत डा. गोविन्द केसीका जायज माग सरकारले सम्बोधन गर्ने र केही माग परिमार्जन गर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा नेता पाण्डेले उहाँलाई अनशन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको बताउँदै काठमाडौँ ल्याएर वार्ता गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
नेपाली विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न विदेश जाँदा करिब रु १५ अर्ब ५३ करोड राज्यबाट विदेशिएको अवस्थामा त्यसलाई रोक्न डा. केसीका केही माग बाधक रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले डा. केसीको सत्याग्रहमा कांग्रेसको नैतिक समर्थन रहेको बताउँदै सरकारले जस्ताको तस्तै पुरानो विधेयक ल्याएमा आफ्नो पार्टीले समर्थन गर्ने त्यसलाई तोडमोड गरेर ल्याए विरोध गर्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले अनशनरत डा.केसीको जीवन रक्षाको माग गर्दै सरकारले जुम्लामा नै गएर वार्ता गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अनशनरत डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले सरकार संवेदनशील भई चाँडो वार्ता गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँको जीवन रक्षाका लागि प्रधानमन्त्रीलाई संघले अवगत गराएको जानकारी दिँदै सरकारले डाक्टर केसीसँग वार्ता गर्न चाहेको भए संघले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू