काठमाडौँ, २७ असार (रासस) ः स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ ।
आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमार्फत रोज्ने भन्दै विधेयकमा सांसदमार्फत संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो ।
विश्वविद्यालय, मेडिकल कलेज तथा अस्पतालमा गएर अनसन बसेर डा केसीको माग पुरा नहुने उहाँको भनाइ थियो । डा केसीले जस्तै आफूलाई चित्त नबुझेको कुरामा प्रत्येक नेपालीले अनसन बस्न थाल्यो भने के हुन्छ भने प्रश्न गदै उहाँले आफूलाई लागेको बेला अनसन बस्न नपाइने बताउनुभयो । डा केसीको जायज माग सम्बोधन हुने राज्यमन्त्री अर्यालले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताउनुभयो ।
“माथेमा प्रतिवेदन सुझाव दिन मात्र बनाएको हो । प्रतिवेदनमा १० वर्षसम्म काठमाडाँैमा कलेज नखोल्ने भनेर सुझाव मात्र दिइएको हो,” उहाँले भन्नुभयो– “माथेमाले दिएको सुझाव मान्नुपर्दछ भन्ने छैन, सुझाव हो, राम्रो लागे मान्ने हो, नभए मान्ने होइन ।”
भट्टराईले कसैले केहीका लागि अनसन बस्दैमा माग पुरा गर्नुपर्ने भन्ने नभएको बताउनुभयो । डा केसीले भनेका सबै माग पुरा गर्नुपर्ने भन्ने कुरा केही उल्लेख नगरिएको भन्दै उहाँले भन्नुभयो, “केसीले भनेका मात्र कलेजलाई सम्बन्धन दिने, अरुलाई नदिने भनेर कहाँ लेखेको छ ।”
नेता भट्टराईले डा केसी हरेक पटक अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँको अनशनको उद्देश्य नै शंकास्पद रहेको धारणा राख्नुभयो । अहिलेसम्म सम्बन्धन दिएका कलेजलाई संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्ने उहाँको भनाइ थियो ।
“मेडिकल कलेजमा पढ्दा पास हुने, अनि नेपाल मेडिकल काउन्सिलमा परीक्षा दिँदा फेल हुने,” उहाँले भन्नुभयो– “त्यसैले ती सम्बन्धन दिएका कलेजमाथि छानविन हुनुपर्छ ।” मेडिकल कलेज कसैलाई सिफारिस देउ, कसैलाई नदेउ भन्ने अधिकार डा केसीको नभएको नेता भट्टराईले बताउनुभयो ।
नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताउनुभयो । उहाँले केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताउनुभयो ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू