काठमाडौँ, २१ असार (रासस) ः नेपाली काँग्रेसका नेता डा रामशरण महत नेपालको आर्थिक पक्षलाई आधुनिकीकरणमा लैजान नेता गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ९५औँ जन्मजयन्तीका अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान र गिरिजाप्रसाद कोइराला श्रमिक प्रतिष्ठानले संयुक्त रुपमा आज आयोजना गरेको ‘जिपी र समृद्धि’ विषयको विचारगोष्ठीमा उहाँले काँग्रेसले आर्थिक उदारीकरणलाई अगाडि बढाएका कारण अहिले मुलुक यस अवस्थामा आइपुगेको भनाइ राख्नुभयो ।
काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसले मुलुकको आर्थिक नीतिलाई नेतृत्व दिएको बताउँदै वर्तमान सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन नसकेको आरोप लगाउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले गिरिजाबाबुमा समृद्धि, आधुनिक र न्यायपूर्ण नेपाल निर्माणको चाहना रहेको बताउनुभयो ।
श्रमिक प्रतिष्ठानका उपाध्यक्ष सुधा दाहाल र जिपी प्रतिष्ठानका सदस्य हरि ढुंगानाले स्व कोइराला बहुआयामिक व्यक्तित्व भएको बताउँदै अहिले मुलुकमा उहाँजस्तो नेताको अभाव रहेको विचार राख्नुभयो । श्रमिक प्रतिष्ठानका महासचिव सूर्य नेपालले विसं २०६४ मा नेता कोइराला छँदा नै स्थापना भएको श्रमिक प्रतिष्ठानले गिरिजाबाबुका नाममा थुप्रै सामाजिक काम गर्दै आइरहेको जानकारी दिनुभयो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू