काठमाडौँ, २० असार (रासस) ः पूर्वलिच्छवी तथा लिच्छविकालीन प्रथम बस्ती हाँडीगाउँ विशालनगर क्षेत्रको उत्खननका साथै अध्ययनअनुसन्धान बढाई पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
विशालनगर हाँडीगाउँ सम्पदा समाजद्वारा ‘कैलाशकूट भवनको अध्ययनअनुसन्धान तथा हाँडीगाउँ क्षेत्रको पर्यटकीय विकास’ विषयमा आज यहा आयोजित गोष्ठीमा सहभागीले प्राचीन बस्तीको संरक्षण गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नेलाई राजश्वको हिस्सेदार बनाउनुपर्ने तथा कैलाशकूट राजदरबारको नमूना भवन बनाई पर्यटक आकर्षण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँहरुले मानदेव र नरेन्द्रदेवले बनाएको भनिएको मानगृह र भद्राधिवास भवनको पनि खोजी हुनुपर्ने बताउँदै यहाँका मनमानेश्वरी, कृष्णमन्दिर र सत्यनारायण मन्दिरको पनि प्रचारप्रसार गर्नुपर्ने तथा पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हाँडीगाउँ विशानगर क्षेत्रको उत्खनन र दस्तावेजहरुको खोजीमा सरकारले सहयोग गर्ने तथा सरकारको १०० गन्तव्यमा हाँडीगाउँलाई पनि पार्ने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रा डा दिनेशचन्द्र रेग्मीले ‘इतिहास, मानदेव, अंशुवर्मा र कैलाशकूट भवन’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै अंशुवर्माले निर्माण गरेको भनिएको कैलाशकूट भवन अग्लो र भव्य भएको तथा चिनियाँहरुले पनि मुग्धकण्ठले वर्णन गरेको जानकारी दिनुभयो । कार्यपत्रमाथि टिप्पणी गर्दै प्रा दिनेशराज पन्तले हाँडीगाउँको इतिहासलाई उजागर गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका सचिव गणेश श्रेष्ठले सरकारले कैलाशकूटको अध्ययनअनुसन्धान र उत्खननका लागि रु एक करोड विनियोजन गरेको जानकारी दिँदै सो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन आह्वान गर्नुभयो । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले यस वर्षको वर्षा सकिएपछि उत्खनन शुरु गरिने जानकारी दिनुभयो ।
पर्यटनविद् अनिल चित्रकार र आङछिरिङ शेर्पा, इतिहासकार डा यज्ञनाथ आचार्य, साहित्यकार रोचक घिमिरेले हाँडीगाउँ पर्यटक बस्न र खानलायक हुनुपर्ने बताउँदै धेरै वर्षको पर्यटन गुरुयोजना बनाउनुभन्दा आजको सम्भाव्यता हेरी काम शुरु गरिहाल्नुपर्ने तथा हाँडीगाउँ सङ्ग्रहालय निर्माण गर्न सुझाव दिनुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू