काठमाडौँ, २० असार (रासस) ः राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न मन्त्रालयअन्तर्गतका शीर्षकहरुमाथिको छलफल आज पनि जारी रह्यो ।
विभिन्न नौवटा मन्त्रालयमा आधारित भएर सांसदहरु कालीबहादुर मल्ल, बलरामप्रसाद बास्कोटा, रामपृत पासवान, भैरवसुन्दर श्रेष्ठ, विमलाकुमारी पौडेलले कृषि र पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अगमप्रसाद वान्तवा राई, शेरबहादुर कुँवर, रामचन्द्र राई, विना पोखरेल र उदया शर्मा पौडेल, कविता बोगटीले बजेटमा आएका विषयलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै युटोल तामाङ, सिंहबहादुर विक, चक्रप्रसाद स्नेही, खेमराज नेपाली र कोमल वलीले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्नुपर्ने, पर्यटन तथा संस्कृति छुट्टाइनुपर्ने, जीर्ण उद्योगको प्रवद्र्धन र सञ्चालन, औद्योगिक क्षेत्रको विकासमा जोड दिनुभयो ।
हरिचरण शिवाकोटी, नरपति लोहार र नैनकला ओझाले जनस्वास्थ्यका कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने र विकास कार्यक्रममा अवरोध हुन नहुनेमा जोड दिनुभयो ।
सदस्यहरुले आफ्नो धारणा राख्नुअघि अनिता देवकोटा, धनकुमारी खतिवडा, प्रकाश पन्थ र जीतेन्द्र नारायण देवले क्रमशः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २१ गते बिहान ११ बजे बस्नेछ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू