काठमाडौँ, ८ असार (रासस) ः बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ ।
बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्ध एयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणालगायत आवश्यक पूर्वाधार अध्यागमनर भन्सार छ महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ । सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि नयाँदिल्लीको हवाई उडान करीब एक घण्टा १० मिनेटमा भर्न सकिने छ ।
नेपालगञ्जबाट सीधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । यसले प्रदेश नं ५ को बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ ।
नेपालगञ्ज–नयाँ दिल्ली–नेपालगञ्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगञ्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ ।
–––
तपाईंको प्रतिकृयाहरू