ल्हासा, चीन, ८ असार (रासस) ः चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ ।
नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा नयाँ आधारमा सम्बन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि खछ्याङसँग भएको भेटवार्ता र सहमतिका आधारमा नेपाल र चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा पुगेको र तिब्बत सरकारसँगको सम्बन्धसमेत थप प्रगाढ बनेकामा खुशी व्यक्त गर्नुभएको थियो ।
ऐतिहासिक कालदेखि नै नेपाल तिब्बत सम्बन्ध रहेको भन्दै बदलिँदो अवस्थामा त्यसलाई अझ फराकिलो र मैत्रीपूर्ण बनाउँदै सहयोगका विविध आयाममा समेत एक अर्का पक्षले जोड दिँदै कार्यान्वयनमा लैजान उहाँले आग्रह गर्नुभयो ।
तिब्बत सरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीचको सम्बन्ध आगामी दिनमा अझ समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । तिब्बत सरकारका तर्फबाट नेपाललाई सधैँ सहयोग रहनेछ भन्दै छिटालाले आपसी हित र चासोका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाउनुभएको थियो ।
सो अवसरमा चीनको ‘एक क्षेत्र, एक मार्ग’लाई सघन कार्यान्वयनका लागि हिमाली सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्य ढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएको विषय संयुक्त वक्तव्यमा समेत आएको छ भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष छिटालाले कार्यान्वयनका लागि दुवै पक्ष मिलेर अगाडि बढ्न सहमत हुनु भएको थियो ।
यस्तै अन्तरदेशीय प्रसारण लाइन, तिब्बती राजमार्ग प्रयोगका विषयमा प्रधानमन्त्री तहमा भएको सहमति तथा पर्यटन प्रवद्र्धन, सीमा व्यवस्थापन तथा नेपालीलाई तिब्बत सरकारले दिएको सुविधा तथा अन्य विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री पत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो । प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा अध्यक्ष छिटालाले आजै यहाँ रात्रिभोजको आयोजना गर्नुभयो ।
–––
तपाईंको प्रतिकृयाहरू