१३ माघ २०८१

जापानमा ठुलो भूकम्प, तीन जनाको मृत्यु, २ सयबढी घाइते

५ असार २०७५, मंगलवार १३:२९ मा प्रकाशित

टोकियो / एजेन्सी– जापानको ओसाका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पमा परी एक बालिकासहित तीन जनाको मृत्यु भएको छ । सोमबार बिहान आएको सो भूकम्पमा परी अन्य २ सयभन्दा बढी घाइते भएका छन् ।

भूकम्पको शक्तिशाली झट्कासँगै ओसाका विमानस्थल केही घण्टाका लागि बन्द गरिएको थियो भने रेलसेवा तथा उद्योगहरूसमेत केही समय रोकिएका थिए । ओसाका क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आएको सो भूकम्पपछि सुनामी आउने र परमाणु प्लान्ट विस्फोट हुने सम्भावना भने नरहेको बताइएको छ  ।

जापान सबैभन्दा बढी भूकम्प आउने देशमा पर्छ । जापानमा मात्रै विश्वमा आउने ६ रेक्टर स्केलभन्दा साना वा ठूला गरी २० प्रतिशत भूकम्प आउने बताइएको छ । ओसाका क्षेत्रमा सोमबार बिहान स्थानीय समयानुसार ८ बजे भूकम्प गएको हो । सो भूकम्पमा स्कुलको पर्खाल भत्किँदा एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै, अर्का एक जनाको पर्खाल भत्किएर र अर्का व्यक्तिको भने घरमा किताब राख्ने ¥याकमा च्यापिएर मृत्यु भएको हो ।

भूकम्पमा परी अन्य २ सयभन्दा बढी घाइते भएको जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाले जानकारी गराएका छन् । भूकम्पपछिको उद्धार कार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको इबाराकी सीमा बस्ने अनुसन्धाता अत्सुसी योकोईले एकैपटक भूकम्पको शक्तिशाली झट्का महसुस गरेको जनाएका छन् । त्यसलगत्तै उनले आफूले भूकम्पबाट भएको क्षतिको अनुसन्धान सुरु गरेको पनि उल्लेख गरेका छन् ।

भूकम्पले सोमबार जापानको ओसाका क्षेत्रमा कार्यालय समयलाई समेत प्रभावित बनाएको थियो ।  भूकम्पमा परी केही अग्ला भवन हल्लिदा सिसाहरू र भुइँ चर्किएको बताइएको छ । भूकम्पका कारण सडकमा चिरा गर्नुका साथै केही स्थानमा पानीको पाइपमा समेत क्षति पुग्दा खानेपानी आपूर्तिमा समेत समस्या भएको छ ।

जापान टाइम्सले भूकम्पका कारण १ लाख ७० हजार घरमा विद्युत् र ग्याँस आपूर्ति तत्कालका लागि बन्द भएको जनाएको छ । जापानको भूकम्प मापन केन्द्रले यो भूकम्प ६ दशमलव १ म्याग्निच्युडको रहेको जनाएको छ भने अमेरिकी जियोलोजिकल सर्भेले भने ५ दशमलव ३ म्याग्निच्युडको भएको उल्लेख गरेको छ ।

तपाईंको प्रतिकृयाहरू

अन्तराष्ट्रिय समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter