०३ माघ २०८१

सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

२५ जेष्ठ २०७५, शुक्रबार १३:०३ मा प्रकाशित

सल्लेरी, सोलुखुम्बु, २५ जेठ (रासस) ः चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ ।

चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सबैभन्दा बढी थुलुङ दूधकोशी गाउँपालिकाभित्रका रहेका छन् । कम उमेरमा गर्भाधान, स्वास्थ्य संस्थामा नियमित जाँच नगर्ने, मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसूति नगराउने र समयमा नै उपचारमा नपुग्दा उनीहरुको मृत्यु भएको डा शेर्पाको भनाइ छ ।

मृत्यु हुनेमा थुलुङ दूधकोशी गाउँपालिका देउसा चराखुकी १८ वर्षीया महिलाको शिशुलाई जन्म दिएपछि साल अड्किनाका साथै अत्यधिक रक्तश्राव भएर मृत्यु भएको थियो । यस्तै सोही गाउँकी १८ देखि ३० वर्षकी अर्की महिलाको समेत अत्यधिक रक्तश्राव भएर तत्काल थप उपचार गर्न नसक्दा मृत्यु भएको डा शर्पाको भनाइ छ ।

यस्तै महाकुलुङ गाउँपालिका पेल्माङकी ३२ वर्षीया र सोलु दूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुकी ५० वर्षीया महिलाको समेत अत्यधिक रक्तश्राव भएर थप उपचार नहुँदा मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यस्तै माप्य दूधकोशी गाउँपालिका काँकुकी २४ वर्षीया महिलाको समेत समयमा उपचार हुन नसक्दा रक्तश्रावकै कारण मृत्यु भएको प्रमुख डा शेर्पाले बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter