मलेखु, धादिङ, २२ जेठ (रासस) ः स्थानीय गल्छी गाउँपालिकाको वडा नं ६ मा पर्ने महेशदोभान नजिकै पञ्चकन्या मन्दिरको खोल्साबाट लेदो माटोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्गमा आज बिहान अवरोध भएकामा अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ ।
सतसट्ठी जिल्लाका यात्रु आवतजावत गर्ने उक्तराजमार्गको धादिङखण्डको सो सडकमाथि अव्यवस्थित ग्रामीण सडक र बालुवा उत्खनन हुने गर्दा रातिदेखि परेको वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्गमा आवागमन ठप्प हुन पुगेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले जानकारी दिनुभयो ।
राजमार्गमा खसेको पहिरो स्काभेटरको सहयोगले हटाएपछि बिहानदेखि एकातर्फी रुपमा सडक खुलाइएको छ । राजमार्गमा पटक पटक पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेपछि स्थायी समाधानका लागि पहल नभएको महेशदोभान निवासी इन्दिरा भण्डारीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सवारी साधनमात्रै होइन सर्वसाधारणलाई समेत निकै सकस हुने गरेको छ । सडक किनारबाट पैदलयात्रा गर्न समेत नसकिने गरी लेदो माटो जम्ने भएका कारण स्थानीयवासीलाई बजारसम्म आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । त्यसैगरी विद्यार्थी सडक छेउबाट हिँडेर विद्यालय जान र घर फर्कनसमेत नसक्ने गरी सडकमा लेदो जमेको छ ।
आवागमन ठप्प भएपछि राजधानीबाट बाहिर निस्किएका र बाहिरी जिल्लाबाट राजधानीतर्फ जाँदै गरेका सयौँ सवारी साधन बीच सडकमा रोकिँदा यात्रुको विचल्ली भएको थियो ।
–––
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू