काठमाडौँ- यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका चालक दलका चार जना सदस्यको आत्माको चीर शान्तिको कामना गर्दै क्यबिन क्रु एशोसियसन अफ नेपाल एयरलाइन्सले दीप प्रज्वलन गरेको छ ।
सोमबार काठमाडौंको न्युरोडस्थित नेपाल वायुसेवा निगमको कार्यालयअगाडि एसोसिएसनले पाइलट, को–पाइलटलगायत चालक दलका सदस्यको निधनप्रति दुःख व्यक्त गर्दै दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनमा सहभागीहरुले दुर्घटनामा ज्यान गुमाउने सबैको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंबाट पोखरा उडेको विमान अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडा, एयरहोस्टेजहरु ओसिन आलेमगर र सृजना हुङचुङ मगरले ज्यान गुमाएका थिए ।
आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउने मृतकको आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौंको माइतिघरमा दीप प्रज्वलन गरिएको छ ।
एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल , यस टुगेदर वी क्यानलगायत विभिन्न संघ संस्थाहरुले मृतकको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
साथै उनीहरुले पुराना हवाईजहाजको उडान बन्द गर, हवाइजहाजसम्बन्धी कानून र नीतिमा सुधार गर, ५५ वर्षको जहाज आकाशमा, दुर्घटनालाई कसले रोक्न सक्ला, विदाई कसलाई ? थोत्रा जहाज की सार्वजनिक सेवा? जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अज्ञात ३ जना यात्रुको खोजी तथा उद्धार जारी छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू