काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनमा पनि चुनावी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको भोलीपल्ट सत्ता गठबन्धनले यहि गठबन्धनलाई निरन्तरता दिने औपचारिक निर्णय गरेको हो।
बैठकमा सहभागी एक नेताले भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो।’
चुनावी सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनेको छ। कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम थियो।
सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकामा अनिवार्य तथा स्थानीय तहमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गर्दा अधिकांस स्थानीय तहमा गठबन्धनका दलहरुबीच तालमेल भएको देखिएको थिएन।
संघ र प्रदेशको निर्वाचनमा पनि दलहरुबीचको चुनावी तालमेल र सीट बाँडफाँड मुख्य समस्या हुने देखिएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू