काठमाडौँ – निर्वाचन आयोगले दल विभाजनका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई भदौ ९ गते सनाखतका लागि उपस्थित हुन आह्वान गरेको छ।
सरकारले दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेपालले नेकपा एकीकृत (समाजवादी) र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन्।
प्रमुख आयुक्त दिनेश थपलियाले भदौ ९ गते बिहान ११ बजेदेखि दिउँसो २ः३० बजेसम्म विभाजनको पक्षमा सनाखत गर्न आह्वान गरिएको जानकारी दिए।
उनका अनुसार केन्द्रीय सदस्यले नागरिकता वा मतदता परिचयपत्र र सांसदले संसद सचिवालयले दिएको परिचयपत्र लिएर लिएर आयोगमा जानुपर्ने छ। आयोगले भदौ ९ गते पार्टी विभाजनको पक्षमा सनाखत गर्न नगएका सांसदले पछि दल परिवर्तन गर्न नपाउने जनाएको छ।
प्रमुख आयुक्त थपलियाले देशसञ्चारसँग भने, ‘त्यस दिन विभाजनको पक्षमा सनाखत गर्न आउने सांसद मात्रै नयाँ दलमा जानेछन्। त्यसपछि दल परिवर्तन गर्न पाइँदैन।’
त्यस्तै आयोगले बुधबार दुवै पक्षले दिएको निवेदनमा नाम उल्लेख नभएका केन्द्रीय सदस्य एवं सांसदले व्यक्तिगत निवेदन दिएर विभाजनको पक्षमा उभिन पाउने निर्णय गरेको छ।
‘विभाजनका लागि संयुक्त रुपमा निवेदन दिँदा नाम उल्लेख नभएका केन्द्रीय सदस्यले त्यसै दिन व्यक्तिगत निवेदन दिएर सहभागी हुन पाउँछन्, थपलियाले भने।
राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गरेर सरकारले दल विभाजनका लागि केन्द्रीय कमिटि र संसदीय दलमा ४०/४० प्रतिशत चाहिने प्रावधानलाई हटाएर दुई मध्ये एकातिर मात्रै २० प्रतिशत सदस्य मात्रै भए पनि विभाजन गर्न पाउने प्रावधान राखेको छ।
उक्त २० प्रतिशत पुर्याएर नेपाल र ठाकुरले दल विभाजनका लागि आयोगमा निवेदन दिएका हुन्।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू