काठमाडौँ – बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमिन तर्फ प्रवेश गरेको र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ । त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन हुन प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले आग्रह गरेका हुन् ।
सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खट्ने सबैलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आँकलन गरि सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ ।
नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्वतारोहणका लागि हिमालतिर गएका टोलीलाई तुरुन्त फिर्ता बोलाउन भनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशको तराईमा अति भारी वर्षा, चट्याङ्ग पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना रहेको विभागले जनाएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना देखिन्छ । गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपात र वर्षा हुन सक्ने जनाइएको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू