काठमाडौँ- संसद पुनःस्थापनाको फैसलासँगै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने चौतर्फी दबाब बढेपनि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा नदिने बरु संसदको सामना गर्ने निष्कर्षमा पुगेका छन्।
मंगलबार सर्वोच्च अदालतले ६५ दिनअघि विघटित संसद ब्यूँताएलगत्तै आफू निकट नेताहरुसँग तीव्र छलफल र बुधबारको आफू पक्षीय नेकपा स्थायी कमिटी बैठक गरेपछि ओलीले राजीनामा नदिने बरु संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने निष्कर्ष निकालेका हुन्।
खानेपानी मन्त्री मणिचन्द्र थापाले कसैले माग गरेको भरमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने बरु संसदको सामना गर्ने निर्णय गरिसकेको र त्यो निर्णय अब परिमार्जन नहुने पनि स्पष्ट पारे।
बुधबार साँझपख देशसञ्चारसँगको अन्तर्वार्तामा मन्त्री थापाले प्रधानमन्त्री ओलीको राजीनामाबारे स्पष्ट नभइ आफू र अन्य मन्त्रीहरुले पनि राजीनामा नदिने अडान लिएका छन्।
त्यसअघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले राजीनामा दिने/नदिने विषयमा टुंगो लागिनसकेको र आफूहरु दलहरुसँगको परामर्शमा रहेको बताएका थिए।
मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने अर्थात अन्यौलतामै प्रधानमन्त्री ओलीले राजीनामा दिन नमिल्ने सन्देश दिने ज्ञवालीले प्रयास गरेका थिए। बुधबारको स्थायी कमिटी बैठकमा थापा, ईश्वर पोखरेल, शंकर पोखरेल, सुवास नेम्वाङ लगायत स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा नदिन र संसदको सामना गर्न सुझाव दिएका थिए।
थापाले सर्वोच्च अदालतको संसद पुनःस्थापनाको फैसलाको स्वागत गरेपनि यसले मुलुकमा राजनीतिक अस्थिरिता उत्पन्न हुने, दलहरुबीच विवाद नै चुलिने प्रक्रिया नै सुरु भएकोमा आफू चिन्तित भएको बताएका छन्।
र, सरकारले पछिल्लो पटक विप्लव समूहसँग वार्ताको तयारी गरेपनि सर्वोच्चको फैसालासँगै त्यो प्रभावित हुने निश्चित भएको उनले विश्लेषण गरे। आफूहरु सत्तामा रहिरहेको खण्डमा भने विप्लवलाई वार्तामा ल्याएरै छोड्ने उनले दृढता प्रर्दशन गरेका छन्। विप्लव समूह र सरकारबीच वार्ता मन्त्री थापाकै सक्रियतामा अन्तिम चरणमा पुगेको थियो।
यस्तै अन्तर्वार्तामा उनले अब आफू पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा उभिने कुनै पनि सम्भावना नरहेको दाबी गरेका छन्।
नेकपा विभाजनमा संसद विघटन मुख्य कारण बनेको थियो। अर्थात संसद विघटनछि विवादैविवादले धमिरा लागेको नेकपा दुई फ्याक भएको थियो। नेकपा विभाजनसँगै नेताहरुले आफू अनुकूल कित्ता समातेका थिए।
कित्ताकाटको यो प्रक्रियामा अपेक्षाभन्दा फरक किसिमबाट थापा आफ्नो पुरानो माओवादी घर त्यागेर ओलीको घर भित्रिएका थिए।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू