१३ फागुन २०८१

झरेको झर्‍यै छ झरी, मनसुन अझै १० दिनसम्म

८ आश्विन २०७७, बिहीबार १८:२४ मा प्रकाशित

काठमाडौँ – यो वर्षको मनुसन अझै सक्रिय छ तर देशभर औसतभन्दा बढी वर्षा भइसकेको मौसमविदले बताएका छन् ।

नेपालमा सामान्यतया जुन १० मा पूर्वबाट भित्रने मनसुन सेप्टेम्बर २३ मा पश्चिमबाट बाहिरिन्छ । तर यो वर्षको मनसुन अझै सक्रिय रहेको छ । मनसुन कम्तीमा अझै हप्ता १० दिन जारी रहने मौसमविद वरुण पौडेलले बताएका छन् ।

मनसुन अवधिमा नेपालमा औसत करिब १५ सय मिलिमिटिर पानी पर्छ । यो वर्ष दुई दिन ढिला गरी अर्थात जुन १२ मा पूर्वबाट प्रवेश गरेको मनसुन लगातार सक्रिय रहेकाले औसतभन्दा धेरै वर्षा भएको हो ।

मौसमविद पौडेलले भने, ‘औसतको आँकडा भन्दा १० प्रतिशतसम्म बढी वर्षा भएमा औसतमै मानिन्छ । १० वा त्यो भन्दा बढी प्रतिशत वर्षा भएमा औसतभन्दा बढी वर्षा हो । यो वर्ष भने देशभरका पूर्ण क्षमताका १६ वटा स्टेशनको मापनमा औसतभन्दा बढी वर्षा भइसकेको देखिएको छ ।’

उनले अघि भने, ‘अहिले पनि मौसमी गतिविधि सक्रिय रहेको छ । अझै पानी पर्ने देखिएकाले यो वर्षको मनसुनमा औसत भन्दा अझै धेरै पानी पर्ने देखिन्छ ।’

पछिल्ला केही वर्षदेखि मनसुन केही ढिला गरी भित्रिएर अझ ढिला गरी बाहिरिने गरेको छ । मौसमविदले पौडेलले भने, ‘पछिल्लो चार–पाँच वर्षमा अक्टोबर लागेपछि मात्रै मनसुन बाहिरिएको छ। यो वर्ष पनि अक्टोबर लागेपछि मात्रै मनसुन नेपालबाट बाहिरिने देखिन्छ ।’

गएको वर्ष अक्टोबर १२ मा मनसुन नेपालबाट बाहिरिएको थियो । तर यो वर्षजस्तो पानी भने परेको थिएन ।

मनसुन भित्रिन पनि ढिला हुने र ढिलै गरी बाहिरिने गरेकाले विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तनको प्रभावका कारण मनसुनी चक्र नै प्रभावित वा सरेको हुन सक्ने मौसमविदको भनाइ छ। तर यसमा अनुसन्धानको खाँचो रहेको मौसमविद पौडेलले बताए ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा १२५ एमएम, सिमरा १०८ एमएम, पोखरामा ८४ एमएम, जनकपुरमा ७२ एमएम र काठमाडौँमा ७३ एमएम, घोराहीमा ५७ एमएम तथा वीरेन्द्रनगरमा ४४ एमएम वर्षा भएको छ ।

तपाईंको प्रतिकृयाहरू

ब्रेकिङ न्युज

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter