११ माघ २०८१

सबै नेपालीलाई सैन्य तालिम दिन भन्दै सुवालले दर्ता गरे संविधान संशोधन विधेयक

२३ जेष्ठ २०७७, शुक्रबार १८:४० मा प्रकाशित

सबै नेपाली नागरिकलाई सैन्य तालिम दिने व्यवस्था हुनुपर्ने माग राख्दै थप एउटा संविधान संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता भएको छ।

सांसद प्रेम सुवालले शुक्रबार संविधान संशोधन विधेयक दर्ता गराएका हुन्। सुवालले शुक्रबार अपरान्ह २ बजेर २० मिनेटमा आफ्नो तर्फबाट संविधान संशोधन विधेयक दर्ता गराएको विधेयक शाखाकी अधिकृत सावित्रा शर्माले जानकारी दिइन्।

सांसद सुवालले नेपालका नागरिक सबैलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रपति कार्यकारी प्रमुख हुनुपर्ने लगायत विषयमा आफ्नो संशोधन प्रस्ताव राखेका छन्।

यसअघि सरकारले नक्सा अनुसार संविधानको अनूसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधानको दोस्रो संशोधन विधेयक दर्ता गराएको थियो।

सो विधेयक संसदीय प्रक्रियामा प्रवेश भइसकेको छ। त्यसपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रुपमा, नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दे नेपाली कांग्रेसका सांसदहरु अमरेश कुमार सिंह, उमाकान्त चौधरी लगायत ८ जना सांसदको र जनमोर्चा नेपालको तर्फबाट संविधान संशोधन विधेयक दर्ता भएका छन्।

सांसद सुवालले संविधान संशोधन विधेयक दर्ता गराएसँगै संविधान संशोधनका लागि गैरसरकारी संशोधन विधेयकको संख्या ४ पुगेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter