प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अद्यावधिक नक्सासम्बन्धी विधेयक संसदबाट पारित गरिने बताएका छन्।
संघीय संसद सचिवालयमा एकपछि अर्को संविधान संशोधनका प्रस्ताव दर्ता भइरहेका बेला सांसद थापाले बिहीबार नक्सा संविधानको अंग बन्ने प्रक्रिया पहिले टुंग्याइने बताएका हुन्।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा निशान छापमा राख्न सरकारले संविधान संशोधनको प्रस्ताव सदनमा दर्ता गरेको छ।
उक्त प्रस्तावका पक्षमा मतदान गर्न यसअघि नै कांग्रेस केन्द्रीय कार्यसमितिले संसदीय दललाई निर्देशन दिइसकेको छ।
कांग्रेस सांसद प्रदीप गिरि, अमरेशकुमार सिंहलगायत आठ सांसदले देउवा सरकारका पालामा २०७४ भदौ ५ मा फेल भएको संविधान संशोधन प्रस्तावमै एक बुँदा थपेर पुन: संशोधनका लागि प्रस्ताव लगेका छन्।
कांग्रेस केन्द्रीय समितिले संसदीय दललाई देउवा सरकारका पालामा फेल भएको संशोधन प्रस्ताव पुन: दर्ता गर्ने निर्णय गरेको छ। तर आठ सांसदले संसदीय दललाई जानकारी नदिई उक्त प्रस्ताव दर्ता गरेका थिए।
सांसद थापाले एकपछि अर्का संशोधन दर्ता भइरहेकोप्रति लक्षित गर्दै गरेका ट्वीटमा नक्सासम्बन्धी विधेयक संविधानको अंग बनाउने प्रक्रिया टुंग्याइने उल्लेख गरेका हुन्।
‘परिवर्तित नक्सालाई संविधानको अंग बनाउन संसदको प्रक्रियामा प्रवेश गरिसकेको संविधान संशोधन विधेयक संसदबाट पारित गरेर नक्सा संविधानको अंग बन्ने प्रक्रिया पहिले टुंग्याइन्छ,’ थापाले भनेका छन्, ‘त्यसपछि मात्र आवश्यकताअनुसार संशोधनका अन्य प्रस्ताव संसदका विजनेसमा पर्न सक्छ, नअल्मलिऊँ, नअल्मल्याऊँ।’
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू