परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सोमबार बिहान साढे ११ बजे भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर डिमार्स दिएको हो। कूटनीतिक क्षेत्रमा डिमार्स भन्नाले कुनै विषयबारे एक देशको सरकारले अर्को देशसँग राख्ने औपचारिक धारणा/जानकारी बुझिन्छ।
शनिबार नेपालमा विदा परेको र आइतबार भारतमा विदा हुने भएकाले राजदूत क्वात्रालाई आज मन्त्रालयमा बोलाइएको स्रोतले जानकारी दियो।
राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफैंले मन्त्रालयमा कुरा गरेका थिए।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो।
भारतको उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गर्दै भारतको उक्त कदमको विरोध गर्दै सीमा समस्याको हल गर्न वार्ता गर्नु पर्ने बताएको छ।
तर भारतले भने त्यस्तो वार्ता कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू