०९ माघ २०८१

नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा

२२ बैशाख २०७७, सोमबार २१:५० मा प्रकाशित

नेपालगञ्ज बैशाख २२ – नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।

नेपालगञ्जमा एकाएक १६ जनामा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘मंगलबार (२३ गते) बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरेका छौं, प्रजिअ खड्काले भने, यो बेलामा कोहीलाई घरबाट बाहिर निस्किन दिदैनौ।’

सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्रसँगै तरकारी मण्डी अर्को निर्णय नभएसम्म बन्द गर्ने, पालिका, टोलले मान्छेलाई आवतजावत गर्न नपाउने गरी तंगारो राख्न नपाउने र त्यस्तो गर्नेलाई कारबाही गर्ने, सामाजिक सञ्जालमा धार्मिक, जातीय सद्भाव भड्काउने कुरा लेखेमा कारबाही गर्ने, कोरोना परीक्षणको दायरा बढाउने निर्णय गरेको नेकपाका जिल्ला अध्यक्ष आइपी खरेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी खड्काको अध्यक्षतामा भएको बैठकमा कांग्रेसका किरण कोइराला जनता समाजवादी पार्टीका कमरुद्दिन राइन, राप्रपाका नरेन्द्र पौडेललगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो।

नेपालगञ्जको वडा नं. ८ मा मात्रै संक्रमित देखिएका छन् । १९ गते संक्रमित देखिएका व्यक्तिको सम्पर्कमा रहेकाको स्वाव परीक्षण भइरहेको छ । उनको र उनले संक्रमित बनाएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिको पनि खोजी भइरहेको छ । वडा नं. ८ को जुलाहनपुरुवा टोलका सबैलाई परीक्षण गर्नुपर्ने अधिकारीहरुले बताएका छन् ।

नेपालगञ्जतिरका नाका ‘सील’
नेपालगञ्जमा कोरोना संक्रमित देखिएपछि छिमेकी पालिकाहरुले नेपालगञ्जसँगको नाका ‘सील’ गरेका छन् ।

जानकी, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिकाले नेपालगञ्जतर्फका नाका सील गरेर केही समयका लागि नेपालगञ्जसँग दुरी बढाएका हुन् । यी पालिकाहरुले आफ्नो चारै दिशामा कडाई गर्दै नेपालगञ्जसँग आवतजावत रोक्ने जनाएका छन् ।

यी पालिकाका कतिपय ठाउँमा सडकमै तंगारो राखिएका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले अत्यावश्यक कामले नेपालगञ्ज आउने व्यक्तिलाई समेत रोकिएको भन्दै आफूलाई फोन आइरहेको जानकारी दिए ।

पालिकाहरुले अत्यावश्यक कामबाहेक आवतजावत रोक्ने बताएका छन् । नेपालगञ्जतिरबाट तरकारीलगायत खाद्य बस्तुलाई प्रवेश नदिने बताएका छन् । पालिकाहरुले मात्रै नेपालगञ्जभित्रकै वडाहरुमा पनि यस्तो दुरी बढाउने काम भइरहेको छ । आफ्नो वडालाई सुरक्षित गराउन बाहिरका मान्छेलाई प्रवेशमा कडाई गरिएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter