काठमाडौँ- राजीनामाका लागि चर्को दबाबमा परेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा आफना उत्तराधिकारीका रुपमा अघि सारिएका नेता वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव विधिवतरुपमा ‘माइन्युट’ गर्न नेकपाका असन्तुष्ट नेताहरुले दबाब दिने भएका छन्।
भोलि हुने पार्टी केन्द्रीय सचिवालय बैठकमा ओलीकातर्फबाट त्यस्तो प्रस्ताव ल्याइएमा त्यसलाई ‘माइन्यूट’ गर्नुपर्ने अडानमा शीर्ष ४ नेताहरु बस्ने भएका हुन्।
बैठकमा खासगरी खुलेर ओलीको राजीनामा माग गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले राजीनामा दिने मिति र त्यसपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रक्रियाबारे लिखित निर्णय गर्न उनलाई बाध्यतामा धकेल्ने रणनीति बनाएका छन्।
बुधबार ओलीले गरेको प्रस्तावको विश्लेषण पछिल्ला दुई दिनयता लगातार यी शीर्ष नेताहरु र उनीहरुको समूहबीच बेग्लाबेग्लै र सामूहिकरुपमा भइरहेका छन्।
‘ओलीले साँच्चै पहिले राजीनामा दिएर गौतमलाई प्रधानमन्त्री बनाउन चाहेको भए लिखित निर्णयमा सहमति गरेर देखाउनुपर्ने छ। त्यही निष्कर्षमा हामी पुगेका छौँ,’ नेता खनालले भने। नेता खनालले सोही निष्कर्षका आधारमा आफूहरुले भोलिको बैठकमा ओलीसमक्ष अडान राख्ने रणनीति बनाएको बताए।
बिहीबार र शुक्रबार साँझसम्म छलफललाई निरन्तरता दिएका यी शीर्ष नेताहरु गौतमलाई अघि सारेर प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अर्थ र व्याख्या ‘माइन्यूट’ गर्न उनी सहमत भए त्यो अहिलेका लागि पर्याप्त हुने निष्कर्षमा पुगेका हुन्।
शुक्रबार बिहान नेता नेपाललाई भेटेका प्रचण्डले पछि पूर्वमाओवादी पृष्ठभूमिका नेकपा स्थायी कमिटी सदस्यहरु मणि थापा, देव गुरुङ, मातृका यादव, गणेश शाह, लीलामणि पोखरेललगायतलाई खुमलटार बोलाएर लामो छलफल गरेका थिए।
यता नेता नेपालले पनि पूर्वएमाले पृष्ठभूमिका नेकपा स्थायी कमिटी सदस्यहरु युवराज ज्ञवाली, भीम आचार्य, रघुजी पन्त, बेदुराम भुसाललगायतलाई आफ्नो निवास कोटेश्वर बोलाएर अपरान्ह छलफल गरेका थिए।
त्यसपछि प्रचण्ड, नेपाल, खनाल र श्रेष्ठबीच छलफल भएको थियो। स्थायी कमिटी सदस्य मणि थापाले ओलीले एक पद छोड्नै पर्ने निर्णयमा आफूहरु पुगिसकेको र त्यसका लागि उनी तयार रहेको स्पष्ट सन्देश पनि दिनुपर्ने अडान लिनेमा असन्तुष्ट नेताहरु सहमत भएको बताए।
‘हाम्रो पक्षले हिजो र आज पटकपटक एकआपसमा र सामूहिक छलफल गरेको छ। छलफलको एउटा मुख्य निष्कर्ष हो– ओलीले राजीनामा दिन तयार हो भने कहिलेसम्म राजीनामा दिने हो र अर्को व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने हो त्यसको निर्णय लिखितरुपमा हुनुपर्छ। त्यसका लागि भोलि शीर्ष नेताहरुले दबाब दिनुहुनेछ।’
उनले भने, ‘हाम्रो पक्षले हिजो र आज पटकपटक एकआपसमा र सामूहिक छलफल गरेको छ। छलफलको एउटा मुख्य निष्कर्ष हो– ओलीले राजीनामा दिन तयार हो भने कहिलेसम्म राजीनामा दिने हो र अर्को व्यक्तिलाई कसरी प्रधानमन्त्री बनाउने हो त्यसको निर्णय लिखितरुपमा हुनुपर्छ। त्यसका लागि भोलि शीर्ष नेताहरुले दबाब दिनुहुनेछ।’
साथै थापाले गौतमलाई प्रधानमन्त्री बनाउने ओली तयार भएको निर्णय अनुमोदनका लागि स्थायी कमिटीमा पठाउन आवश्यक समेत रहेको बताए। उनले भने, ‘तर त्यो निर्णयलाई अनुमोदन गर्ने या नगर्ने अधिकार स्थायी कमिटीलाई छ। त्यसतर्फ पनि शीर्ष नेताहरुले ध्यान दिनुपर्छ।’
नेपाल समूहका नेता रघुजी पन्तले प्रधानमन्त्री ओलीको प्रस्ताव कसरी कार्यान्वयन हुन्छ भन्ने विषय अबको सचिवालय बैठकको मुख्य मुद्दा भएको बताए। ‘प्रधानमन्त्रीबाट यस्ता प्रस्तावहरु धेरै आए, निर्णय पनि भए तर कार्यान्वयनका बेला उहाँले आलटाल गरेका नजिरहरु धेरै छन्। त्यसमा सचेत हुँदै नेताहरु अघि बढ्नुहुन्छ,’ पन्तले भने।
प्रधानमन्त्री ओलीले नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बन्न गरेको प्रस्ताव भने नेता नेपालले अस्वीकार गर्ने बुझिएको छ।
पन्तले नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने भन्दै गरिएको प्रस्तावलाई माछा मार्न फालिएको जालका रुपमा मात्रै लिएको र आफूहरुले त्यो अस्वीकार गर्ने बताए। ‘हामी आफ्नो अडानमा दृढ छौँ। कुनै पनि लोभ स्वीकार्ने पक्षमा छैनौँ। विधि र पद्धतिलाई टेकेर काम गर्ने नेतृत्व निर्माणको अभियानमा छौँ । फर्केर हेर्ने समय छैन,’ पन्तले भने।
तीन दिनअघि बैशाख १७ गते बालुवाटारमा भएको सचिवालय बैठकमा प्रचण्डसँगै पार्टी र सरकार दुवै सञ्चालनमा असफल भएको ठहरसहित चार शीर्ष नेताले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर निकास दिन आग्रह गरेका थिए।
तर प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने बरु कोरोना संकटपछि उपचुनाव लडाएर या संविधान संसोधन गरेर भएपनि गौतमलाई प्रधानमन्त्री बनाउने, नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउन मौखिक प्रस्ताव राखेका थिए।
साथै त्यसबारे गृहकार्य र छलफल गरेर आ–आफ्नो धारणासहित भोलिको सचिवालय बैठकमा उपस्थित हुन ओलीले नेताहरुलाई आग्रह गरेका थिए।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू