काठमाडाैं बैशाख १८, लोकान्तर संवाददाता
प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अड्डी कस्दै आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधवार बसेको पार्टी सचिवालय बैठकमा सचिवालय सदस्यहरूमाझ विल्कुलै नयाँ प्रस्ताव अगाडि सारेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बन्ने गरी प्रस्ताव गरेका हुन् ।
ओलीको प्रस्ताव पछि नेकपा भित्रको विवाद केही मत्थर हुने संकेत देखिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साझ बसेको बैठकको शुरूमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तपाईले मार्ग प्रसस्त गर्नु पर्यो भन्दै ओलीको राजीनामा माग गरेका थिए ।
प्रचण्डको प्रस्तावमा ओलीले जवाफ फर्काए– ‘म मार्ग प्रसस्त गर्न तयार छु, मैले मार्ग प्रसस्त गरेपछि तपाईहरूसंग विकल्प के छ ?’
संसदीय दलमा आफ्नो बहुमत नपुग्ने भएपछि र पार्टी भित्रको निरन्तर दवाव दिएपछि आफू राजीनामा गर्न तयार रहेको उनले बताएका थिए ।
‘मेरो राजीनामा त माग्नु भयो, नयाँ प्रधानमन्त्री को ? विकल्प के तयार गर्नु भएको छ । तपाईहरूको प्रस्ताव त अपुरो भयो’ बैठकमा ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘म मार्ग प्रसस्त गर्छु र विकल्प दिन्छु । यसो गरौ कोरोना सकिएपछि वामदेजवीलाई प्रधानमन्त्री र माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाऔं ।’
ओलीको प्रस्तावपछि सचिवालय बैठकमा केहीबेर सन्नटा छाएको थियो । सचिवालय सदस्यहरूले एक आपसमा मुखामुख गरेका थिए ।
‘वामदेवजीलाई प्रधानमन्त्री बनाउने भनेर यसअघि पटक पटक भनिएको हो, संसदमा ल्याउने कुरा पनि भएको हो । उहाँलाई संसदमा ल्याएर महामारीपछि वामदेवलाई बनाउने हो भने म छाड्दिन्छु’ ओलीले बैठकमा भनेका थिए ।
कोरोना संकट समाधान भएपछि गौतमलाई संसदमा लगेर प्रधानमन्त्री बनाउने आफ्नो प्रस्तावमा समर्थन गर्न उनले आग्रह गरे ।
ओलीको प्रस्ताव आएपछि प्रचण्डले ‘ठीकै छ नि त’ भनेका थिए । ओलीको प्रस्तावमा बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले कुनै प्रतिक्रिया दिएनन् ।
प्रचण्डले समर्थन गरेपछि महासचिव विष्णु पौडेलले ‘सुविचिार हो र लागू गर्नेगरी ल्याइएको हो भने यसमा मेरो समर्थन छ’ भनेका थिए । प्रधानमन्त्रीको प्रस्तावमा कसैले विरोध जनाएका थिएनन् ।
भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेपछि उपाध्यक्ष गौतमले आफूलाई सपना जस्तो भएको प्रतिक्रिया दिएका थिए । ‘यो त मलाई सपना जस्तो भयो’ गौतमको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सचिवालयको बैठकमै यो प्रस्ताव माइन्युट गर्न प्रस्ताव गरेका थिए । सचिवालयका अन्य सदस्यहरूले भने अहिले नै हस्ताक्षर गर्ने भन्दा विधी र प्रक्रियागत ढंगले हामीपनि छलफल गरेर २० गतेको बैठकमा थप छलपल गर्ने गरी निर्णय गरौ भनेपछि बैठक सकिएको थियो ।
बैठकको अन्त्यतिर प्रचण्डले ‘ओलीजीले अप्रत्यासित कुरा ल्याउनु भयो’ भनेर आशंका व्यक्त गरेका थिए । प्रचण्डले आशंका गरेपछि ओलीले नै माइन्युट गर्ने प्रस्ताव गरेका हुन ।
सचिवालय बैठक सौहाद्रपूर्ण ढंगले सकिएपछि प्रधामनन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले सहमतिको सन्देश दिन एक ठाउँ उभिएर तश्वीर खिचाएका थिए ।
नेकपा सचिवालय बैठक २० गते पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २० गतेको बैठकले स्थायी कमिटीको बैठक बोलाउने सम्भावना रहेको उनले बताए ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू