काठमाडौँ । देशका एक जना पूर्वराज्य मन्त्री तथा बहालवाला संसदलाई राज्य संयन्त्रले कथितरुपमा ‘अपहरण’ गरेको आरोप लागेको छ । समाजवादी पार्टीले डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा ‘अपहरण’ गरेर काठमाडौँ ल्याइएको आरोप लगाएको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव पनि पूर्व आईजीपी सर्वेन्द्र खनाल र महोत्तरी प्रहरीका एसपी श्यामकृष्ण अधिकारीको मिलेमतोमा डा. यादवको अपहरण भएको दाबी गर्छन् ।
डा यादवको महोत्तरी र जनकपुरमा घर रहेको छ । डा. सुरेन्द्र यादव महोत्तरीको सोनामा धेरै बस्छन् । सो गाउँका वडा अध्यक्ष अशोक यादवले पनि यादवलाई प्रहरीले उठाएर लगेको बताए । उनले भने, ‘प्रदेश २ का डीआईजीले सांसद डा. सुरेन्द्र यादवलाई उठाएर लग्नुभएको हो । हामीले किन लगेको सोध्दा प्रधानमन्त्री ओलीको विरोध गरेको कारण लगेको भन्नुभएको थियो ।’
तर, उनकै पारिवारका सदस्यहरुले अपहरणको हल्ला गलत भएको बताएका छन् । सांसद डा।यादवकी श्रीमतीले भनिन्, ‘डाक्टर साब १२ बजे घरबाट जनकपुर घरमा निस्कनुभएको हो, उहाँले निस्किदा आज घर नआउन सक्छु भन्नुभएको छ, उहाँ अपहरणमा पर्नुभएको हो जस्तो लाग्दैन ।’
सांसद डा. यादवका भञ्जा राजेश यादवले पनि मामा अपहरणमा नपरेको र आफूसँग घरमा रहेको दाबी गरे । उनले भने, ‘मामा (सांसद यादव) अपहरणमा पर्नुभएको छैन, ब्याट्री सकिएर उहाँको मोवाइल अफ भएको छ, उहाँ जनकपुरस्थित घरमै हुनुहुन्छ ।’
एसपी अधिकारीले आफूलाई यसबारेमा केही जानकारी नरहेको प्रतिकृया दिए । सांसद यादव अपहरणमा परेको भए उनका परिवारले प्रहरीलाई जानकारी गराउँथ्यो, हालसम्म प्रहरीमा त्यस्तो कुनै जानकारी पनि नआएको बताए
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू