०५ माघ २०८१

सङ्कटमा सिंजा बहुमुखी क्याम्पस

३ कार्तिक २०७६, आईतवार ११:४९ मा प्रकाशित

सुर्खेत, ३ कात्तिक  सिंजा बहुमुखी क्याम्पस जुम्ला एक दशकदेखि सङ्कटपूर्ण अवस्थाबाट सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट २०६७ फागुन २० गते सम्बन्धन प्राप्त गरेको क्याम्पसमा कुनै पनि सरोकारवालाको ध्यान नजाँदा यसको अपेक्षित प्रगति हुन सकेको छैन । क्याम्पसमा २६ शिक्षकको दरबन्दी छ तर हाल तीनजना उप–प्रध्यापकले अध्यापन गराइरहेका छन् । स्नातक तहको व्यवस्थापन तथा शिक्षा सङ्काय सञ्चालनमा ल्याएको क्याम्पसमा एकातिर शिक्षक अभाव छ भने अर्कोतर्फ आर्थिक स्रोतको कुनै विकल्प छैन । क्याम्पसको आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थामा सुधार नआउँदा यसको कुनै पनि उन्नति हुन नसकेको क्याम्पस प्रमुख तीर्थबहादुर नेपालले बताउनुभयो । “क्याम्पसको आर्थिक स्रोत भनेकै तीनै तहका सरकार, विद्यार्थी भर्ना र परीक्षा शुल्क हो”, उहाँले भन्नुभयो, “यद्यपि कुनै पनि सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग हुन नसक्दा क्याम्पस विजोग अवस्थामा पुगेको छ ।” सञ्चालक समिति र समुदायको अनुरोधमा विद्यार्थीको भर्ना शुल्क रु पाँच हजार लिने गरिएको क्याम्पस प्रमुख नेपालको भनाइ थियो । आर्थिक स्रोत अभावका कारण आफू स्वयंले पनि प्रतिमहीना रु छ हजार मात्र तलब खानुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार आर्थिक स्रोतको नियमितता नहुँदासम्म क्याम्पसको शैक्षिक तथा संस्थागत विकास हुने अवस्था देखिँदैन । यता क्याम्पस सञ्चालक समितिका अध्यक्ष रणबहादुर रोकायाले सङ्घ र प्रदेश सरकारको सहयोग नहुँदा यहाँ अध्यापनरत शिक्षकको तलब व्यवस्थापन गर्न गाह्रो भएको राससलाई जानकारी दिनुभयो । यहाँको विकासका लागि सरकारी निकायबाट प्राप्त विभिन्न योजनाको कामबाट केही रकम बचाएर गाउँलेले क्याम्पसका शिक्षकलाई तलब खुवाउँदै आएको उहाँको भनाइ थियो । उहाँका अनुसार सिंजा बहुमुखी मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस भइसके पनि यहाँको आवश्यकताअनुसार जनशक्ति नभएकाले त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ । सिंजा गाउँपालिकाले भने गत आव २०७५÷०७६ मा रु २९ लाख ७५ हजार र चालू आवमा भौतिक पूर्वाधार विकासमा रु १२ लाख सहयोग गरेको छ । विकास निर्माणका योजनामा यहाँका नागरिकले काम गरेर शिक्षकलाई पाल्नुपर्ने समस्याले क्याम्पसको अवस्था सङ्कटपूर्ण बन्दै गएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । हाल यो क्याम्पस समुदायमा पूर्ण निर्भर छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter