०३ माघ २०८१

सागका लागि समिति गठन

१० आश्विन २०७६, शुक्रबार १०:२४ मा प्रकाशित

काठमाडौँ, १० असोज  नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाललगायतको उपस्थिति थियो । समितिअन्तर्गत राष्ट्रिय टोली तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव, खेलस्थल व्यवस्थापनमा राखेपका पूर्वसदस्य–सचिव केशवकुमार विष्ट संयोजक र लवभक्त श्रेष्ठ सचिव, प्राविधिकमा गङ्गाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव, स्रोतसाधन परिचालनमा उमेशलाल श्रेष्ठ संयोजक, सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणीन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव रहनु भएको छ । यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा अजयशमशेर जबरा संयोजक र मधुसूदन बस्नेत सचिव, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, अनुगमन, निरीक्षण तथा मूल्याङ्कनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव, खेल सामग्री, उपकरण तथा पोशाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र बज्रबहादुर केसी सचिव तथा एन्टी डोपिङमा डा सरोजकृष्ण श्रेष्ठ संयोजक र तिलक नेपालीलाई सचिव तोकिएको छ । बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति गठन गरेको छ । समितिका सदस्यहरुमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, राखेपका सदस्य राजेश गुरुङ र तेजबहादुर गुरुङ तथा सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी छन् । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकारसमेत दिइएको छ । सागमा समावेश विभिन्न २७ खेलमध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय गरिएको छ । सरस्वती कतार प्रस्थान विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छिन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वतीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवम एनओसीका उपमहासचिव तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरे । यस्तै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको काङ्ग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह दोहा प्रस्थान गरेको एथलेटिक्स सङ्घका सचिव आरके विष्टले बताए ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter